१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ। उक्त केन्द्रमा नदीको २.१ मिटर पानीको सतहलाई सतर्कता तह मानिन्छ। हाल नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले तटीय तथा डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ।

‘हाल नदीको बहाव बढिरहेको छ। गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ। नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने बाढी र पहिरोसम्बन्धी पछिल्ला सूचना तथा चेतावनीलाई नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।

 

प्रकाशित: ३ श्रावण २०८३ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App