म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा व्यवसाय आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ। नगरपालिकाभित्र अटोरिक्सा चलाएर करिब ३० जना युवाले मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
पछिल्लो समय बेरोजगार युवाहरू अटोरिक्सा व्यवसायतर्फ आकर्षित भएका छन्। बेनी बजारका व्यवसायी शिव रेग्मीका अनुसार रोजगारीको अवसर अभाव भएका युवाहरूका लागि यो व्यवसाय राम्रो विकल्प बनेको छ।
बेनी नगरपालिका–२ बगरफाँटका सुमन रिजालले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। दैनिक दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म कमाइ हुने र सबै खर्च कटाएर दैनिक करिब एक हजार पाँच सय रुपैयाँ बचत हुने उनले बताए। विदेशी भूमिमा श्रम गर्नुभन्दा आफ्नै ठाउँमा स्वरोजगार बन्ने उद्देश्यले अटो व्यवसाय रोजेको उनको भनाइ छ।
तीन वर्षअघि तीन लाख ८० हजार रुपैयाँमा अटोरिक्सा खरिद गरेका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटाले पनि यस व्यवसायबाट सन्तोषजनक आम्दानी भइरहेको बताएका छन्। सुरुवाती चरणमा अटोरिक्सा कम हुँदा दैनिक तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए। हाल अटोरिक्सा संख्या बढेसँगै आम्दानी केही घटे पनि अन्य व्यवसायको तुलनामा राम्रो रहेको उनको भनाइ छ। घरखर्च र अन्य आवश्यक खर्च यही आम्दानीबाट धानिएको छ भने केही बचतसमेत हुने गरेको छ।
वैदेशिक रोजगारीबाट फर्किएका वसन्त रेग्मीले पनि अटोरिक्सा चलाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्न सफल भएका छन्। घरमै बसेर काम गर्न पाइने, शारीरिक रूपमा अत्यधिक कष्ट नहुने र नियमित आम्दानी हुने भएकाले यो व्यवसाय उपयुक्त रहेको उनको भनाइ छ। विशेषगरी रोजगारीका अन्य अवसर नभएकाहरूका लागि अटोरिक्सा व्यवसाय प्रभावकारी विकल्प बनेको छ।
बेनी नगरपालिकाले आफ्ना १० वडाभित्र सञ्चालन गर्न मिल्ने गरी अनुदानमा अटोरिक्सा वितरण गरेपछि यहाँ अटो सञ्चालन सुरु भएको हो। पहाडी भूगोल भए पनि कालोपत्र सडक रहेका क्षेत्रभित्र अटोरिक्सा सञ्चालनमा छन्। हाल नगरपालिका क्षेत्रमा ३० वटा अटोरिक्सा सञ्चालनमा रहेका छन्। रासस
प्रकाशित: २ फाल्गुन २०८२ १०:४० शनिबार





