पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा घाइते भएकी सोही गाउँपालिका-३ निवासी ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
एक बालकसहित अन्य पाँच जना घाइतेको अवस्था भने सामान्य छ। सबै घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।
बल्घाबाट कटौजेतर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो। उक्त अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको यकिन कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ २१:०४ सोमबार



-600x400.jpg)

