अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम तथा दस्तखत प्रयोग गरी झुट्टा उजुरी दर्ता गराउने एक व्यक्तिलाई जरिवाना गरेको छ।
आयोगले रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका-५ का दीपक पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ बमोजिम दुई हजार रुपैयाँ जरिवाना गरेको हो।
पुनले आफू सहकारीको अध्यक्ष रहेको र नेपाल प्रहरीका एक डि.आई.जी.ले ऋण नतिरी पदको दुरुपयोग गर्दै मुद्दा मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको भन्दै उजुरी दर्ता गराएका थिए।
उजुरीमा १५ लाख रुपैयाँ नगद र कान्छी श्रीमतीको नाममा थप चेक लिई धम्की दिएको दाबी गरिएको थियो। तर, उक्त उजुरी ‘एबी राई’ (आङबाबु राई) को नामबाट हालिएको थियो। अनुसन्धानका क्रममा आङबाबुले उक्त उजुरी आफूले नदिएको र हस्ताक्षर समेत आफ्नो नभएको सनाखत गरेका थिए।
त्यसपछि पुनले आयोगसमक्ष बयान दिँदै आङबाबु राईको जानकारी तथा स्वीकृतिविना नै आफूले उनको नामबाट उजुरी दिएको स्वीकार गरेका थिए।
अनुसन्धानका क्रममा उजुरीमा उल्लेख गरिए जस्तो कुनै पनि घटना नभएको, कसैले धम्की नदिएको र रकमसमेत नमागेको पुष्टि भएको थियो।
आङबाबु राईलाई दुःख र हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको प्रमाणित भएपछि पुनलाई जरिवाना गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित: २९ आश्विन २०८३ १६:१२ बिहीबार





-600x400.jpg)