५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

शव राख्ने विषयमा विवाद हुँदा कटारी अस्पतालका मेसुमाथि आक्रमण प्रयास

अस्पतालभित्रै आक्रोसित भीडले घेरिएका डा. गौरब (चश्मा)। तस्बिर: महेश्वर

शव गृहको विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि प्रादेशिक अस्पताल कटारीका प्रमुखमाथि हातपातको प्रयास भएको छ।

आक्रोसित भिडसँगको विवाद उत्कर्षमा पुगेपछि अस्पताल छाडेका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. गौरब शाहले ज्यान जोगाउन अस्पताल छाड्नु परेको मध्यराति फेसबुक सन्देश पोष्ट गरेका छन्।

सोमबार दिउँसो उनीमाथि सय/डेढ सयको जत्थाले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि अस्पताल छाड्न बाध्य भएको उनको फेसबुक सन्देशमा उल्लेख छ। मंगलबार बिहान २:०० बजे पोष्ट गरेको फेसबुक सन्देशमा डा. शाहले कटारी अस्पताललाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन धेरै मेहेनत गरेको, हण्डरठक्कर खाएको, सुरुवाती चरणदेखि अहिलेसम्म समर्पित भएर लागेको तर परिणाम आज साह्रै नमिठो भोग्नु परेको पश्चाताप गरेका छन्।

बिग्रेको पोष्टमार्टम गृहको फ्रिज मर्मतका क्रममा रहेकाले अहिले शव राख्न नमिल्ने बताउँदा एक्कासी ठूलो आक्रोसित जग्था आएर तथानाम गालीगलौज गर्दै भौतिक आक्रमण गर्न लागेपछि अस्पताल छाडेको उनको भनाइ छ। पहिलो पटक प्रमुख भएर आउँदै सुधार थालेको र अध्ययन गरेर दोस्रो पटक प्रमुख भएर आएपछि उत्तिकै अस्पतालको विकास र सुधारमा लागिरहेको बताउँदै उनले कटारीबाट राम्रो तरिकाले बाहिरिने सोचेकोमा अकल्पनीय परिस्थिति आइपरेको गुनासो उनको सन्देशमा छ।

अस्पताल राम्रो बनाउन एमालेबाट निर्वाचित तत्कालीन मेयरसँग मिलेर काम गर्दा एमालेको ट्याग लगाइदिएको, अहिले कांग्रेसका मेयरसँग काम गर्दा पनि कांग्रेस बनाउने गरेको दुखेसो गर्दै डा. शाहले आफू जहिल्यै अस्पतालको पक्षमा रहेर अस्पताल बनाउनेभन्दा अरु केही दल र रंगको नभएको भए पनि समाजले आफूलाई नबुझेकोमा गहिरो दु:ख मनाउ गरेका छन्।

कटारी ३ का वडाध्यक्ष पुस्कर खड्काका अनुसार अघिल्लो विहान कटारी नगरापलिका-२ स्थित एक निजी विद्यालयको स्कुलबसबाट खसेर सहचालक उत्तम थापाको निधन भएको थियो। मृतकका आफन्तजन जिल्लाबाहिर भएकाले आउन समय लाग्ने भएपछि शव पोष्टमार्टम गर्न ढिला हुने भयो। आफन्त आउन्जेल अस्पतालमै राख्न खोज्दा पोष्टमार्टमगृहको फ्रीज बिग्रेकाले राख्न नमिल्ने बताउँदा विवाद भएको वडाध्यक्ष खड्काले बताएका छन्।

तर, अचानक ठूलो भिडले अस्पताल घेरेर डा. शाहमाथि मनपरी गालीगलौज गर्नुका साथै हातपातको प्रयास भएपछि डा. शाह अस्पताल छाडेर हिडेको स्थानीयको अनुमान छ। अहिले उनी कहाँ छन् सम्पर्क हुन नसकेको वडाध्यक्ष खड्काले बताए। उनको मोबाईलमा फोन लाग्छ तर उठ्दैन, फेसबुक मेसेन्जरमा पनि अनलाईनमै देखिन्छन् तर, म्यासेज फर्काउँदैनन्।  

उनीमाथि एक हुल आक्रोसित भीडले औँला ठड्याएर गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छरपस्ट छन्। ‘तपाँईले राख्न मिल्दैन भनेको, किन राख्न मिल्दैन, यो तपाईको अस्पता हो..?’ लगायत नानाथरी शब्दमा चर्को स्वरका प्रश्नहरू उनीमाथि तेर्स्याएको भिडियो फुटेजमा देखिन्छ।

स्थानीय प्रहरीले घट्ना सामान्य भए पनि विवाद उग्र भएकाले समस्या निम्तिएको जनाउको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलले दुर्घटनामा ज्यान गुमाएको व्यक्तिको शव राख्ने विषयमा विवाद उत्पन्न भएको बताउँदै वास्तबिकताबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित: १२ जेष्ठ २०८३ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App