१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

सिरहा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी, मेयर फरार

सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मेयर यादवले चैत २३ गते आफ्नै कार्यालमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोप छ ।  

पीडित रामशरणले मेयर यादवलाई प्रतिवादी बनाएर दिएको जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला अदालतबाट पक्राउ पुर्जी माग गरेको थियो । ‘मेयर नविन कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले नागरिकसँग भने,‘अहिले उहाँ यहाँ हुनुहुन्न हामी खोज्दै छौँ । उहाँमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ ।’

कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरू सोही दिनदेखि आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरू कार्यालयमै धर्ना दिएर प्रदर्शन गरिरहेका छन् ।  

कर्मचारीहरू आन्दोलनमा उत्रिँदा नगरपालिकाको कामकाज ठप्प बनेको छ । मेयर यादवले सोमबार बिहान ९ बजे(चैत २३) हाजिरी गरिरहेको अवस्थामा गालीगलौज गर्दै लात्ती र मुक्का हानेको कार्यालय सहयोगी रामशरणको भनाई छ ।  

अहिले उपचार गराइरहेका पीडित कर्मचारीको निःशुल्क उपचार हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, नगर प्रमुखमाथि प्रचलित कानूनी बमोजिम कडा कारबाही हुनुपर्ने तथा कर्मचारीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गरिनुपर्ने कर्मचारीहरूको माग छ ।  

आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिई सम्बोधन नगरिए आन्दोलन निरन्तर रहने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले बताएका छन् ।

प्रकाशित: २६ चैत्र २०८२ १७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App