५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

इटहरीमा सेनाको प्रदर्शनी

नेपाली सेनाको २६३ औँ स्थापना दिवसको अवसरमा इटहरीमा सोमबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको छ ।  पूर्वी पृतना हेडक्वाटर इटहरी ब्यारेक हाताभित्र फोटो तथा सैन्य सामग्री सुरु भएको प्रदर्शनी कार्यक्रमको कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ले उद्घाटन गरे । 

राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र विकास निर्माणमा सेनाले खेलेको भूमिकालाई आम नागरिक समक्ष नजिकबाट चिनाउने उद्देश्य सहित प्रदर्शनी कार्यक्रम गरिएको जानकारी दिइयो ।

प्रदर्शनीमा नेपाली सेनाले प्रयोग गर्दै आएका आधुनिक तथा ऐतिहासिक हतियार, सैन्य उपकरण, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, साथै सेनाले निर्माण गरेका भौतिक संरचनाहरूका तस्बिरहरू राखिएका छन् । यसले सेनाको अनुशासन, प्रविधि र सेवाभावलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरेको थियो ।  सुनसरी, मोरङ र झापाका विभिन्न विद्यालयका विद्यार्थी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको छ । 

सैनिकहरूले प्रदर्शनात्मक अभ्यास (ड्रिल), विशेष तालिमका नमूना अभ्यास तथा शान्ति मिसन सम्बन्धी जानकारी समेत प्रस्तुत गरेका थिए ।

प्रदर्शनीका मुख्य आकर्षणमा नेपाली सेनाको इतिहास झल्काउने दुर्लभ तस्बिरहरू, सैनिक उपकरणको प्रत्यक्ष अवलोकन, विपद् व्यवस्थापन सामग्रीको प्रदर्शन तथा भर्ना छनोट प्रक्रिया सम्बन्धी जानकारी रहेका छन । आयोजकका अनुसार, यस्ता प्रदर्शनीले सेना–नागरिक सम्बन्ध सुदृढ बनाउँदै राष्ट्रिय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रदर्शनीबाट युवापुस्तामा राष्ट्रसेवाप्रति आकर्षण बढाउने, सेनाको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने तथा पारदर्शी र उत्तरदायी संस्थाका रूपमा सेनाको छवि सुदृढ गर्ने विश्वास आयोजकले जनाएको छ । 

प्रकाशित: ४ फाल्गुन २०८२ १७:०० सोमबार