२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

आगो ताप्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन्। विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्ने क्रम पनि बढेको छ।

त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन्। केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

सुरुमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताइन्। त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उनले सबैमा अनुरोध गरेकी छिन्। प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत नै आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ।

आगोले जलेर पाँच घाइते

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीबाट पाँच जना घाइते भएका छन्। उदयपुरको कटारी नगरपालिका–४ आँपटार बस्ने चार वर्षीया बालिका आफ्नै घरमा ताप्न बालेको आगोमा परेर घाइते भएकी छिन्।  

यस्तै, सप्तरीको मिर्चैया नगरपालिका–१ मा पनि २५ वर्षीया महिला घुर बालेर बच्चालाई सेक्ने क्रममा साडीबाट आगो सल्किन गई घाइते भएकी छिन्। धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा ४५ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छिन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुर लगिएको छ। सो क्रममा गोठमा  आगो सल्किन जाँदा एउटा पाडी मरेको र भैँसी घाइते भएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ७० वर्षीया वृद्धा गम्भीर घाइते भएकी छिन्। उनको २५ प्रतिशत भाग जलेको र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

विपद्जन्य घटनामा दुईको मृत्यु  

यसैबीच, २४ घण्टामा विपद्जन्य घटनामा अन्य दुई जनाको मृत्यु भएको छ। रुकुमपश्चिम बाफीकोट गाउँपालिका–१ मा भिरबाट खसेको ढुङ्गा लाग्दा २६ वर्षीय एक महिलाको मृत्यु भएको छ।  

 यता कञ्चनपुरमा जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने एक महिला स्थानीय हिमचुली वनमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको हो।

प्रकाशित: १७ पुस २०८२ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App