१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

३६ रुपैयाँ प्रिमियम तिरेका स्याउ किसानलाई २४ रुपैयाँ क्षतिपूर्ति : आन्दोलन चेतावनी

जोखिम न्यूनीकरणका लागि गरिएको स्याउ बिमा नै किसानका लागि टाउको दुखाइ बनेको छ। जुम्लामा स्याउ बिमाको क्षति मूल्यांकनमा गम्भीर त्रुटि भएको आरोपसँगै किसानहरू आक्रोशित भएका छन्। 

बिमा प्रिमियम तिरेको भन्दा नै कम क्षतिपूर्ति रकम तोकिएपछि बिमा कम्पनीको निर्णयप्रति किसानले असहमति जनाएका हुन्। किसानले बिमा नीतिअनुसार क्षतिपूर्ति दिनुपर्ने भए पनि खडेरी र असिनाका स्पष्ट प्रमाण हुँदाहुँदै ‘क्षति नभएको’ उल्लेख गरेर मूल्यांकन गरिएको आरोप लगाएका हुन्। 

स्याउ बिमाबापत प्रतिबिरुवा ३६ रुपैयाँ प्रिमियम तिरेका किसानलाई २४ रुपैयाँ मात्रै दिने निर्णय भएपछि असन्तुष्टि चुलिएको हो। किसानले यसलाई हचुवा र अवैज्ञानिक मूल्यांकनको परिणाम भएको बताएका छन्। 

बुधबार जिल्ला प्रशासन कार्यालय जुम्लामा बिमा कम्पनी, स्थानीय प्रशासन र किसान प्रतिनिधिबिच छलफल भएको थियो। छलफलमा किसानले त्रुटिपूर्ण क्षति मूल्यांकन तत्काल सच्याउन, वर्षा र खडेरीको वास्तविक विवरण सार्वजनिक गर्न र एउटै भूगोलमा फरक-फरक क्षतिपूर्ति निर्धारण गरिएको आधार स्पष्ट पार्न माग गरे। 

सो छलफलपछि जिल्ला प्रशासन कार्यालयले शिखर इन्स्योरेन्स कम्पनीलाई औपचारिक पत्र पठाउँदै पाँच दिनभित्र जिम्मेवार पदाधिकारी जुम्ला आएर समस्याको समाधान गर्न निर्देशन दिएको छ। 

यता प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कम्पनीका सीईओसँग प्रत्यक्ष सम्पर्क गरी जुम्लामा देखिएको समस्या गम्भीर रहेको भन्दै तत्काल पहल गर्न आग्रह गरेका छन्। 

हालसम्म पातारासी, तातोपानी र कनकासुन्दरीका किसानले स्याउ बिमाको क्षतिपूर्ति पाउन सकेका छैनन्। प्रिमियमभन्दा कम दाबी भुक्तानी हुने भएपछि तातोपानीका किसानले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। 

यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बिमित किसानमाथि विभेद भएको भन्दै कडा आपत्ति जनाए। ‘एक साताभित्र किसानको हातमा क्षतिपूर्ति रकम नपुगे स्थानीय सरकारकै नेतृत्वमा आन्दोलनमा उत्रन बाध्य हुनेछौं,’ उनले भने। उनले एउटै मौसम र भूगोल हुँदाहुँदै नगरपालिकामा ६ सय ३८ रुपैयाँ र तातोपानीमा २४ रुपैयाँ तोकिएको मूल्यांकनको आधार सार्वजनिक गर्न माग गरे। 

शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डे भने सरकारले दिनुपर्ने करिब २३ करोड रुपैयाँ अनुदान समयमै नपाएकाले दाबी भुक्तानीमा समस्या भएको बताउँछन्। तातोपानी, कनकासुन्दरी र पातारासीका किसानको हकमा क्षति मूल्यांकनमा केही प्राविधिक कमजोरी भएको उनको भनाइ छ। 

जुम्लामा कुल ५ हजार ३ सय ७९ किसानले स्याउ बिमा गरेका छन्। तीमध्ये ६ सय ५५ जनाले क्षतिपूर्ति पाइसकेका छन्। भने ९ सय ४७ जनाको प्रक्रिया पूरा भइसकेको छ। २ सय ९४ किसानले हस्ताक्षर नगर्दा भुक्तानी रोकिएको छ। 

किसानले आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को बिमा क्षतिपूर्ति अझै नपाएको भन्दै चेतावनी दिएका छन्। 

मौसम केन्द्रको प्रतिवेदनअनुसार गुठिचौरमा प्रतिबिरुवा २ सय १९ रुपैयाँ, तिला र हिमा ३ सय ३८ रुपैयाँ, सिंजामा १ सय ७४ रुपैयाँ र कनकासुन्दरीमा २४ रुपैयाँ मात्रै क्षतिपूर्ति तोकिएको छ। 

जुम्लामा कुल १२ लाख १२ हजार ७ सय ७ स्याउका बिरुवा बिमित छन्। 

क्षतिपूर्ति वितरणमा देखिएको अन्योल, असमान मूल्यांकन र ढिलासुस्तीले जुम्लाको स्याउ बिमा प्रणालीमाथि नै प्रश्न उठाएको छ।

प्रकाशित: ३ पुस २०८२ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App