२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

झुम्का कारागारमा फेरि एक जनाको मृत्यु

उच्च ज्वरोका तीन सय बढी बिरामी, १३ जनालाई थप उपचार गर्न धरान लगियो

सुनसरीको झुम्का कारागारमा फेरि एक जना बन्दीको मृत्यु भएको छ।

ज्वरोले बिरामी भएका सप्तरी राजविराज वडा नं. ८ घर भएका ४६ वर्षे जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ‘ज्वरोले गर्दा जिल्ला अस्पतालमा भर्ना गरिएका जलेश्वरको पछि श्वासप्रश्वासमा समस्या भएपछि उपचारकै क्रममा मृत्यु हुन पुग्यो,’ जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने।  

जेल प्रशासनका अनुसार यादवलाई बुधबार ५:३० बजे अस्पताल लगिएको थियो। त्यसपछि उपचारकै क्रममा मृत्यु भएको निम्ति जेलर राम निरौलाले बताए। मृतक यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए।  

झुम्का कारागारका कैदीबन्दीमध्ये सिकिस्त १३ जना उच्च ज्वरोका बिरामीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कारागार प्रशासनले जनाएको छ। अहिले झुम्का कारागारमा तीन भन्दा बढी ज्वरोका बिरामी रहेका छन्। ती बिरामीका लागि जिल्ला अस्पताल इनरुवा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीलाई झिकाएर बुधबार मध्यरातसम्म स्वास्थ्य शिविर सञ्चालन गरियो।

‘बिरामीका लागि चिकित्सको टोलीले चेकजाँच गरि आवश्यक औषधी दिइएको छ,’ निम्ति जेलर निरौलाले भने, ‘बिरामीको संख्या बढे रहेपनि चिकित्सको टोली हाइ अर्लटमा राखेर चेकजाँच गर्ने काम पनि भइरहेको छ।’

पछिल्लो एक साताको अवधिमा झुम्का कारागारमा तीन जनाको कैदीबन्दीको मृत्यु भइ सकेको छ। यसअघि भदौ १५ र १६ गते सुनसरी गढी गाउँपालिका वडा नं. ६ का ५२ वर्षे रामदेव उराँव र धरान वडा नं. १० का २४ वर्षे सागर राईको मृत्यु भएको थियो। झुम्का कारागारको  ब्लक ‘ए’ र ‘बि’ गरि १ हजार सात सय ९८ जना कैदी रहेका छन्।

प्रकाशित: १९ भाद्र २०८२ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App