२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

भट्टसहित २०विरुद्ध अर्को मुद्दा

हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ। हिमालयन रिइन्स्योरेन्स कम्पनीले एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा भएको हो।

विभागको अनुसन्धानबाट एलियट इन्स्योरेन्स ब्रोकर प्रालिबाट विभिन्न इन्स्योरेन्स कम्पनीका रिइन्स्योरेन्स हिमालयन रिले प्राप्त गरेको देखाउँदै कमिसनबापतको रकम पटकपटक गरी २८ करोड भुक्तानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

इन्स्योरेन्स कम्पनीले गर्दै नगरेको बिमा देखाएर एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई कमिसनबापतको रकम भनेर दिइएको छ। उक्त रकम दीपक भट्टलाई बुझाइएको विभागको दाबी छ। भट्टले एलियट इन्स्योरेन्स ब्रोकर कम्पनी सासू अन्जना नेपालका नाममा स्थापना गरेको देखिएको छ।

भट्टकी सासू नेपाललाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धनन विभागले प्रतिवादी बनाएको छ।  जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्स प्रालिका तत्कालीन अध्यक्ष शेखर गोल्छा, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, स्वतन्त्र सञ्चालक सुभाषकुमार झुनझुनवाला, साधारण सेयरधनीहरूका तर्फबाट शुभेच्छा खरेलसहितलाई प्रतिवादी बनाइएको छ।

हिमालयन रिले एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई हुँदै नभएको कमिसन दिएर गैरकानुनी रूपमा हिमालयन रिइन्स्योरेन्समा हिसाब मिलान गरेको देखिएको छ।

हिमालयन रिइन्स्योरेन्सले एसियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफइन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्ससहित २० वटा कम्पनीको रिइन्स्योरेन्स गराएको भन्दै एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई २३ करोड ९२ लाख रुपैयाँ कमिसन दिएको छ तर ती बिमा कम्पनीहरूले एलियट इन्स्योरेन्स ब्रोकर प्रालिबाट पुनर्बिमा नगराएको बताएका छन्। यी सबै कारोबार दीपक भट्टको लाभका लागि भएको अभियोगपत्रमा उल्लेख छ। यसअघि हिमालयन रिइन्स्योरेन्सकै पदाधिकारीहरूको मिलेमतोमा दीपक भट्टकै ब्रोकर कम्पनीबाट सेयर कारोबार गरेको खुलेको थियो।

यसअघि पनि भट्ट, व्यवसायी सुलभ अग्रवालसहित हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू विरुद्ध सम्पत्ति शुद्धीकरण र धितोपत्र कसुरमा मुद्दा दायर भइसकेको छ। भट्टविरुद्ध २६ अर्बको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा छ। भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा छन्। भट्टकै मुद्दा मिलाउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि सक्रिय भएको देखिएपछि उनीमाथि पनि सम्पत्ति शुद्धीकरणमै अनुसन्धान भइरहेको छ।  

प्रकाशित: २३ आश्विन २०८३ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App