उदयपुरको बेलका नगरपालिकाका पूर्वविद्यार्थीहरूले आफ्नै लगानीमा मदनभण्डारी लोकमार्गमा जेब्राक्रस बनाएका छन्। बेलका नगरपालिका– ४ गुरुङचौरीस्थित जनता नमुना माविका ४० जना पूर्वविद्यार्थीले आफ्नै खर्चमा जेब्राक्रस बनाएका हुन्।
मदन भण्डारी लोकमार्गको गाईघाट–चतारा खण्डअन्तर्गत बेलका नगरपालिकाभित्र पर्ने विभिन्न ठाउँमा जेब्राक्रस निर्माण कार्य गरिरहेका छन्। लोकमार्गमा पटकपटक सवारी दुर्घटना हुने गरेको र जनधनको अपूरणीय क्षति हँुदै आएकाले न्यूनीकरणका लागि जेब्राक्रस बनाएको उनीहरूले बताएका छन्।
खासगरी बजार क्षेत्र र बाक्लो बस्ती रहेको सडकमा जेब्राक्रस अत्यावश्यक भएकाले आफैं खर्च जुटाएर बनाएको पूर्वविद्यार्थीहरूले बताएका छन्। पटकपटक सवारी दुर्घटना हुँदा जनधनको धेरै क्षति भइसके पनि सडक कार्यालय र स्थानीय सरकारले चासो नदिएपछि आफैं सहयोग जुटाएर सो कार्य गरेको उनीहरूको भनाइ छ।
पूर्वविद्यार्थीले तीन दिनयता सडकको आधा दर्जन ठाउँमा जेब्राक्रस निर्माण गरिसकेका छन्। छिमेकी चौदण्डीगढी नगरपालिकाको सीमा देउरालीदेखि सुरु हुने बेलका नगरपालिका सुपाडे, जहडा, लालबजार, गुरुङचौरी, रामपुर र सेती खोलासम्मको क्षेत्र बाक्लो बस्ती र बजार भएकाले ती ठाउँमा जेब्राक्रस बनाउने काम भइरहेको छ।
गुरुङचौरी माविका प्रधानाध्यापक सम्मर राईले यो कार्यमा विद्यालयको २०६७ साल एसएलसी ब्याजका विद्यार्थीसम्मिलित ‘बेलका सचेत युवा समूह’ को अगुवाइ गरिरहेको बताए। प्रअ राईका अनुसार केही साताअघि मात्र एक निजी विद्यालयमा अध्ययनरत बालकको घर पुर्याउन लैजाने क्रममा रामपुर बजारमा स्कुल बसले किचेर ज्यान गएको थियो। छुट्टीपछि घर पुर्याउन लगेको बसले ओर्लेकै ठाउँमा किच्दा नौ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको थियो।
सो घटनाले विछिप्त बनेका स्थानीयले बाटो काट्न जेब्राक्रसिङ चाहे पनि सरोकारवाला निकायले चासो नदिएपछि पूर्वविद्यार्थीहरू आफैं लागिपरेको प्रअ राईले सुनाए। स्थानीय ट्राफिक प्रहरीको सहयोगमा उनीहरूले जेब्राक्रस निर्माणसँगै दुर्घटनाबाट बच्न सचेतनामूलक गतिविधि र सन्देश पनि पस्किरहेका छन्।
सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी हुँदै सिन्धुलीको भिमानदेखि बिपी लोकमार्गसँग जोडिएर राजधानी काठमाडौं जोडिएको मदनभण्डारी लोकमार्गमा पूर्वका सबै जिल्लाबाट लामा–छोटा दूरीका यातायात साधन बाक्लो संख्यामा चल्ने गर्दछन्। २४ सै घन्टा चल्ने यातायातले सडक दुर्घटना निम्त्याएर अप्रिय र अपूरणीय क्षति गर्दै आएकाले न्यूनीकरणका लागि विद्यार्थी यस्तो कार्यमा लागेको बताए।
प्रकाशित: २९ चैत्र २०८२ १०:५८ आइतबार





