पोखरा–१४ समावेशी टोलका गोविन्द अधिकारी रसुवा टिमुरे भन्सारका कर्मचारी थिए। भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएको १० दिन बित्दासमेत उनको अत्तोपत्तो भएन।
बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्। उनको कुशको शव शुक्रबार रामघाटस्थित सेती नदीमा सेलाइएको हो।
अनेक प्रयत्नका बाबजुद नभेटिएपछि परिवारले आश मारेर कुशको शव बनाएर अन्त्येष्टि गरेको छिमेकी घनश्याम पाण्डेले जानकारी दिए।
‘सम्पर्कविहीन भएको दिनदेखि नै खोजी सुरु गरेको हो’,उनले भने,‘बाढी गएको ठाउँ रसुवादेखि काठमाडौं, पोखरा, चितवनसम्म खोज्दा पनि केही पत्ता लागेन, त्यसपछि बाढीमै परेर मृत्यु भएको निष्कर्ष निकाल्दै दाहसंस्कार गरियो।’
अधिकारीसँगै टिमुरे भन्सारमा काम गर्ने अन्य कर्मचारीले पनि उनी बाढी आउँदा भन्सार कार्यालयमै रहेको र बाढीमा परेको बताएपछि आफन्त र परिवार अधिकारीको मृत्यु भएको निष्कर्षमा पुगेको उनको भनाई छ।
‘आफ्ना आफन्त सबैकोमा खोज्दासमेत भेटिएन’,उनले थपे,‘सबै आशाका ढोकाहरू बन्द भएपछि जिउँदो नरहेको निष्कर्षमा आफन्त पुगे।’
अधिकारीको कुशको प्रतिमामा छोरा विनयले दागबत्ती दिए। त्यसअघि चाउथे समावेशी टोलस्थित अधिकारी निवासबाट कुशको प्रतिमासहितको शव निकालेर रामघाटमा पुर्याइएको थियो।
६ महिनाअघि टिमुरे भन्सार सरुवा भएका अधिकारीलाई रसुवा बस्ने मन थिएन। सुरुमा आफैले रोजेर गएको ठाउँ भौगोलिक जटिलता र केही भइहाले भागेर जाने ठाउँसमेत नभएको खोँच देखेर उनी रसुवामा नबस्ने मुडमा थिए।
सरुवाका लागि उनले प्रयास पनि गरेको छिमेकी माधव बरालले जानकारी दिए। सरुवाका लागि काठमाडौंसम्म धाए,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका उनले भने,‘तर एक वर्ष नपुगी सरुवा नमिल्ने भनेपछि निराश भएर रसुवा फर्किए।’
श्रीमानको मृत्युपछि श्रीमती मञ्जु भावविह्वल छिन्। अर्धबेहोसजस्तै रहेकी उनी बारम्बार श्रीमान् खोइ भन्दै बर्बराउँछिन्। श्रीमानले ‘बाढी, पहिरो आए भागेर जाने ठाउँ छैन’ भन्ने गरेको स्मरण गर्दै उनी बर्बराउँछिन्,‘के दशा आइलाग्यो हामीलाई, आखिर उहाँले जे भन्नुहुन्थ्यो, त्यही भयो।’
सरुवा नमिलेपछि अधिकारी तीज पर्व मनाउन घर आउने तयारीमा थिए। घरमा आमा, श्रीमतीदेखि चार दिदी बहिनीहरूलाई भिडियो कल गरेर आफू तीजमा घर आउने जानकारीसमेत गराइसकेको दिदी लीलाले बताइन्।
‘तीजको कोसेली भन्दै कपडासमेत किनेर ल्याएको छु भन्दै देखाउँथ्यो’,बिलौना गर्दै उनले भनिन्, ‘सबलाई हसाउँथिस्, जाने बेला रुवाएर गइस्।’
एक मात्र छोरो गुमाएपछि अधिकारीकी आमा चिनीमायाको होसहवास छैन। छोरो हराएदेखि निन्द्रा हराएको उनको आँखामा आँसुको भेल अझै रोकिएको छैन। छोरा आउने आश मारे पनि सहारा टुटेकोमा उनी ‘म जाने बेलामा तँ छाडेर गइस्’ भन्दै बिलौना गरिरहन्छिन्।
सामाजिक कार्यमा सधैँ अग्रसर हुने अधिकारी भोटेकोशीको बाढीमा परेर बेपत्ता भएदेखि उनको गाउँ समावेशी टोलमा सन्नाटा छाएको छ। घरमा हुँदा सधैँ मुरली बजाएर गाउँलेलाई आह्लादित बनाउने अधिकारी नहुँदा गाउँ नै शोकमा डुबेको छ।
विवाह, व्रतबन्धदेखि गाउँमा हुने हरेक भोजभतेरमा उनी नै अघि सर्थे। सबैसँग घुलमिल गर्ने र सहयोग गर्ने बानी रहेको भन्दै छिमेकी बरालले भने,‘उहाँ साँच्चिकै आँखामा राख्दा पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो।’
कास्कीका १४ मध्य २ जना सम्पर्कमा
भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका कास्कीका दुई जना सम्पर्कमा आएका छन्।
भोटेकोशीमा आएका बाढीका कारण सम्पर्कविहीन भएका कास्कीका १२ जनामध्ये दुई जना सम्पर्कका आएको कास्की प्रशासनले जनाएको छ।
सम्पर्कविहीन भनिएका पोखरा–१५ का ३८ वर्षीय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षीया मनु बुढा सम्पर्कमा आएको प्रशासनको सूचनामा उल्लेख छ।
कास्की जिल्लाका १२ जना नागरिक भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १८:०० शुक्रबार





