काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५२१ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये ३० जनाले मादकपदार्थ सेवन गरेर सवारी चलाएका थिए भने १२ जनामाथि यान्त्रिक अवस्थासम्बन्धी कारबाही गरिएको छ। त्यस्तै, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २६ र तीव्र गतिमा सवारीसाधन चलाउने ६६ जना पनि कारबाहीमा परेका छन्।
यस्तै, सवारीसाधनको अवस्था ठीक नभएका सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक तथा फुटपाथमा पार्किङ गर्ने १९, एकतर्फी सडकमा सवारी चलाउने छ तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ३२३ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
प्रकाशित: २ श्रावण २०८३ १६:३४ शनिबार

