गएराति कटारीमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएपछि मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी खण्डमा यातायात अवरुद्ध भएको छ।
असुरक्षित यात्रा गर्ने सवारीमाथि कडा कारबाही गर्न तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले आइतबार बिहान १०:०० बजेदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध भएका कारण दसैँ मनाउन हिँडेका पूर्व तथा पश्चिमतर्फ चल्ने सयौँ साना ठूला यात्रुवाहक गाडीहरू बाटैमा अलपत्र परेका छन्।
शनिबार राति ९:३० बजे गाईघाटदेखि काठमाडौंंतर्फ जाँदै गरेको बा प्र ०१ ००७ ख ६८४४ नं. को ईभीले कटारी नगरपालिका ५ भोर्लेस्थित मदन भण्डारी लोकमार्गमा विपरीत दिशाबाट आइरहेको प्र १ ०५ ००१ प ९६४२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय सुमन श्रेष्ठ गम्भीर घाइते भएका थिए।
कटारी ५ स्थित देवी माध्यमिक विद्यालयका लेखापाल रहेका घाइते श्रेष्ठलाई उद्धार गरी उपचारार्थ प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारकै क्रममा केही घण्टापछि मृत्यु भएको थियो। मृतकको शव कटारी अस्पतालमै राखेर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
इप्रका प्रमुख डीएसपी उपेन्द्र खरेलले ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
उनका अनुसार लोकमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन हिँडेका यात्रुहरू अलपत्र परेका छन्। अवरुद्ध लोकमार्ग छिटोभन्दा छिटो सुचारु गर्न कटारी नगरपालिकामा छलफल भइरहेको छ। नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सर्वपक्षीय छलफल राखेर लोकमार्ग खोल्ने प्रयास गरिरहेको बताए।
इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी, उद्योग वाणिज्य संघ र मदन भण्डारी लोकमार्ग रेखदेखको जिम्मा लिएको सडक डिभिजन कार्यालयका प्रतिनिधिबीच छलफल भइरहेको छ। सक्दो चाँडो अवरुद्ध लोकमार्ग सुचारु गर्न पीडित पक्षको माग सम्बोधन गराउने प्रयास भइरहेको मेयर श्रेष्ठले बताए।
प्रकाशित: १ कार्तिक २०८३ १५:५६ आइतबार





