बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ।
बाढीले अन्नपूर्ण गाउँपालिका-२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो।
बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ। सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताए।
प्रकाशित: २३ आश्विन २०८३ ०६:४८ शुक्रबार


-600x400.jpg)


