२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

एक्यापले भन्योः ‘अन्नपूर्ण क्षेत्रको पदयात्रामा सचेत रहनु’

बाढीपहिरोले अन्नपूर्ण क्षेत्रमा क्षति

बाढीले क्षति गरेको वीरेठाँटी–घान्द्रुक पदमार्ग। तस्बिरः नागरिक

पदयात्राको सिजन नभएपनि यतिबेला अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ, अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म स्वदेशी र विदेशी पाहुना पदयात्राका लागि गएका छन्। तर, आइतबारको भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण पदयात्रा क्षेत्रमा त्रास छाएको छ। पदयात्राका लागि माथिल्लो भेग पुगिसकेका पर्यटकलाई पदयात्रामा सचेत रहन सरोकारवालाले अनुरोध पनि गरेका छन्।  

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को किम्रुङ खोलामा आइतबार दिउँसो एकाएक बाढी आएको थियो। बाढीले किम्रुङ खोलाको झोलुंगे पुल बगाएको छ भने मोदीमा मिसिएपछि वीरेठाँटी–घान्द्रुक पदमार्गका रेस्टुरेन्टलाई पनि बगाएको छ। वीरेठाँटी–घान्द्रुक खण्डको करिब ३ सय मिटर सडक मोदीले क्षतविक्षत बनाउँदा सवारी आवागमन रोकिएको भएपनि शनिबार बेलुकी एकतर्फी खुला भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।  

उनका अनुसार किम्रुङमा आएको बाढी झिनुमा आएर मोदीखोलामा मिसिन्छ। त्यसपछि मोदीले आसपासका क्षेत्रमा थप क्षति गरेको उनले बताए। ‘खोलाले बाटो कटान गरेको छ। वीरेठाँटी–घान्द्रुक सडक मार्गको स्याउली बजारका दुई होटल पनि बगेका छन्। आइतबारदेखि रोकिएको सडक सोमबार बेलुकीपख संचालनमा आएको छ,’ अध्यक्ष केसीले भने, ‘बाटो कटान भएको थियो। गाउँपालिकाको पहललमा डाइभर्सन खोलेर सडक सुचारु गरिएको छ। तर, यात्रामा सहजता भने छैन।’

बाढीले क्षति गरेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ। अफसिजन भएपनि यतिबेला विदेशी र स्वदेशी पाहुना अन्नपूर्ण आधारशिविर (एबिसी) सम्म उक्लेका छन्। पदयात्रामा रहेका पर्यटकलाई अहिलेसम्म कुनै अप्ठेरो नपरेको भएपनि एक्यापले सचेत हुन भने अनुरोध गरेको छ। एक्याप प्रमुख डा. रबिन कडरिया भन्छन, ‘पदयात्रा रुटमा समस्या त छैन। तर, सचेत हुन भने भनेका छौं। वर्षायामको समय भएकोले बाढिपहिरोको जोखिम त बढ्न सक्छ।’  

उनका अनुसार आइतबार बाढीले बगाएको किम्रुङखोलाको पुल खासै प्रयोगमा आउने गरेको छैन। घान्द्रुकदेखि छोमरोङ जाने मार्गमा पर्ने उक्त पुल पछिल्लो समय कम प्रयोगमा छ। पर्यटकले त्यसको विकल्पमा झिनु हूँदै छोमरोङ उक्लेर आधारशिविर जाने गरेका छन्। ‘वर्षाको समय हो। ख्याल त गर्नैपर्छ। पर्यटकलाई अहिले उत्तिसारो समस्या नै नपरेको भएपनि गन्तव्यमा पुग्न नसक्नु पनि अप्ठेरो नै हो। आइतबार भने पर्यटकहरु जहाँको तही रोकिएका थिए। सोमबार बेलुकीपछि उनीहरु फर्किन सक्ने भएका छन,’ कडरियाले भने, ‘पदयात्रामा जानै नसकिने भन्ने होईन, तर, सचेत हुनु जरुरी छ।’ पदयात्रामा जाँदा कुनैपनि मौसममा सचेत हुन आवश्यक रहेको उनले बताए। पदयात्रा असुरक्षित हुने अवस्था रहेमा जहाँको त्यही रहन पनि अनुरोध गरेको उनले बताए।

एक्यापकै घान्द्रुकस्थित संरक्षण अधिकृत भीमप्रसाद उपाध्यायका अनुसार आइतबार बिहानदेखि उक्त क्षेत्रमा भीषण वर्षा भएको थियो। बेलुकीपख पहिरो झरेपछि केहीबेर किम्रुङ खोलाको वहाव छेकिएको र पछि त्यही वहाव बग्दै जाँदा झोलुंगे पुल बगाएको हो। ‘हरेक वर्षजसो किम्रुङ खोलाले दुख दिने गरेको छ। बाढीले बहाव बढेको किम्रुङ खोला मोदीमा मिसिएपछि मोदीले सडक कटान गर्न थालेको हो,’ उनले भने, ‘खोलाले स्याउली बजार क्षेत्रको सडक कटान गरेको हो।’

उनले पनि यो बेला पदयात्रामा जाने उपयुक्त मौसम नभएपनि पदयात्राका लागि आएका केही आन्तरिक र बाह्य पर्यटकहरु पदमार्गमा छन्। ‘अहिलेसम्म पदयात्रामा रोक लगाएको होईन। तर, सचेत हुन भनेका छौ। पदयात्रामा ख्याल गरेर मात्र हिड्न भनेका छौं,’ उनले भने, ‘सतर्क रहेर पदयात्रा गर्न भनेका छौ।’

माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यावसायी दिलीप गुरुङका अनुसार छोमरोङ भन्दा माथिको खण्डमा अहिलेका लागि अप्ठेरो नभएपनि वीरेठाँटी–घान्द्रुक खण्डमा बढि जोखिम रहेको बताए। ‘वर्षाको मौसम हो। वर्षापछि पहिरो र बाढीको जोखिम थपिएको छ। वीरेठाँटीदेखि झिनुसम्मको खण्डमा अहिले बढि जोखिम छ। पर्यटकले सचेतना अपनाउन आवश्यक छ,’ उनले भने, ‘पानी परिरहेकोले पहिरोको जोखिम बढि छ।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पनि लगातार वर्षा भएको र एबिसी पदमार्ग क्षतविक्षत भएकोले पाहुनालाई सचेतना अपनाउन अनुरोध गरेको बताए। ‘कुनैपनि बेला अप्ठेरो पर्न सक्छ भनेर पदयात्रीलाई सुरक्षित हुन अनुरोध गरेका छौं। सचेत भएर पदयात्रामा जानु भनेका छौं,’ आचार्यले भने, ‘पदयात्रामा जोखिमको समय हो। तर, अहिले नै असुरक्षा भन्ने होइन। सचेत भने हुनुपर्छ।’ 

प्रकाशित: २९ असार २०८३ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App