ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल र सेवा प्रभावकारिता बढाउने उद्देश्यसहित प्रोत्साहन र सुविधाको दायरा विस्तार गरेको छ। गाउँपालिकाले संघीय सरकारले उपलब्ध गराउँदै आएको प्रोत्साहन रकम बराबर थप रकम स्थानीय स्रोतबाट उपलब्ध गराउने व्यवस्था लागू गरेको हो।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) को पहलमा लागू गरिएको कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूले मासिक प्रोत्साहन भत्तामा दोब्बर लाभ प्राप्त गर्ने भएका छन्। संघीय सरकारले उपलब्ध गराउँदै आएको मासिक पाँच सय रुपैयाँ प्रोत्साहन रकममा गाउँपालिकाले शतप्रतिशत थप गर्दै आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा संयोजक समिर प्रधानका अनुसार आर्थिक प्रोत्साहनसँगै स्वयंसेविका तथा उनीहरूको परिवारका लागि स्वास्थ्य बीमाको प्रिमियम रकमसमेत गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा लाग्ने प्रिमियमको शतप्रतिशत रकम स्थानीय तहबाट उपलब्ध गराइने उनले जानकारी दिए।
गाउँपालिकाले दीर्घकालीन सेवामा योगदान पुर्याउने स्वयंसेविकाहरूलाई सम्मान गर्ने नीति पनि अघि सारेको छ। यसअन्तर्गत ६० वर्ष उमेर पूरा गरेका र कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाले स्वेच्छिक अवकाश कार्यक्रममार्फत एकमुष्ट नगदसहित ‘स्वर्ण बिदाइ’ सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, डिजिटल रिपोर्टिङलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक मोबाइल रिचार्ज सुविधा तथा प्रविधि सहयोगसमेत उपलब्ध गराइँदै आएको गाउँपालिका सचिवालय संयोजक लेखनाथ भट्टराईले बताए।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविका फुलमाया मैनालीले गाउँपालिकाको निर्णयले स्वयंसेविकाको योगदानको सम्मान भएको र यसले कामप्रतिको उत्साह थप बढाएको प्रतिक्रिया दिएकी छन्।
स्थानीय तहबाट महिला स्वास्थ्य स्वयंसेविकाका लागि आर्थिक तथा सामाजिक सुरक्षासम्बन्धी सुविधा विस्तार गर्ने आठराई त्रिबेणी गाउँपालिकाको यो अभ्यासलाई ग्रामीण स्वास्थ्य सेवाको सुदृढीकरणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ २०:१८ शुक्रबार





