ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब साढे तीन महिनापछि जहाजले उडान भरेको छ।
नेपाल वायु सेवा निगम ताप्लेजुङ शाखाका प्रबन्धक नारायणकुमार कार्कीले सोमवार नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरेको जानकारी दिए।
कार्कीका अनुसार सुकेटार विमानस्थलमा गत जेठ २२ गते काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भरेपछि फेरि उडान हुन सकेको थिएन। सोमवार काठमाडौंबााट १३ यात्रु सुकेटार ओर्लिए भने ५ जना यात्रु ताप्लेजुङबाट काठमाडौं प्रस्थान गरेका कार्कीले जानकारी दिए।
काठमाडौं देखि ताप्लेजुङसम्मको यात्राका लागि जनही १२ हजार २ सय ७० रुपैयाँ तथा ताप्लेजुङ देखि काठमाडौंका लागि १२ हजार ७० रुपैयाँ भाडादर निर्धारण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ।
आउँदो सातादेखि भने सातामा तीन दिन क्रमशः सोमवार,बिहीबार र शनिवारका लागि उडान हुने गरी तालिका बनेको समेत कार्कीले जानकारी दिए।
प्रकाशित: १२ आश्विन २०८३ १०:१० सोमबार





