उमेरले ७१ वर्ष कटेका कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताका हर्कबहादुर शाही मूर्ति बनाउने पेसामा प्रफुल्लित छन्। २० वर्ष भयो शाहीले मूर्ति बनाउन थालेको।
उनले थुप्रै देवीदेवताको मूर्ति बनाइसकेका छन्। उनले भगवानहरू गणेश, शिव, भगवती, सरस्वती, लक्ष्मी, विष्णु, कृष्णलगायतका मूर्ति बनाइसकेको बताए।
२०५१ सालमा भारतको बुढाकेदारमा बन्न लागेको सबैभन्दा ठूलो मूर्ति बनाउन ६ महिना काम सिकेका हर्क अहिले आफैँ मूर्ति बनाउन थालेका छन्। अहिले यसलाई नै उनले पेसा बनाइरहेका छन्।
‘राम्रो लागेर नै यो काम सुरु गरेको हुँ। आफ्नै इच्छाले काम सुरु गरेकाले दु:ख गरिरहेको छु,’ उनले भने, ‘मैले भारतबाट सिकेर काम थालेको हुँ। अहिले यही पेसामा रमाइरहेको छु।’ अहिले यही पेसाले परिवार चलाउन सहज बनाएको छ।
उनी स्थानीय तहमा समेत मूर्ति, पंञ्चदेवल, परापूर्वकालका ढुङ्गेधारो बनाउन पुग्ने गरेका छन्। पछिल्लो समय मूर्ति मात्र नभइ उनी सालिक पनि बनाउँछन्। धेरै मूर्ति र सालिक निर्माण गरिसकेका उनले कति मूर्ति र पंञ्चदेवल, परापूर्वकालका ढुङ्गेधारो बनाए सम्झनै छैन।
आगामी पुस्ता यो पेसामा नरहने देखे पनि उनले भने विकल्प सोचेका छैनन्। ‘योबाहेक अरू काम गर्न आउँदैन। त्यसैले जति गर्छु, यही काम गर्छु,’ उनले भने, ‘राम्रो काम गर्ने मान्छे पाउन गाह्रै छ। धुलो धेरै उड्ने, आँखा, छालामा समस्या आउने भएकाले काम गर्ने मान्छे पाइँदैन।’ उनका अनुसार अहिले धेरैले पनि पेसा छोड्दै गएका छन्।
शाहीले ढुङ्गाको मूर्ति मात्र नभइ ढुङ्गाकै पंञ्चदेवल, परापूर्वकालका ढुङ्गेधारा र सिमेन्टका मूर्ति समेत बनाइसकेका छन्। शाहीका अनुसार कालीकोट जिल्लामा सबैभन्दा ठुलो र अग्लो शिव भगवानको मूर्ति बनाएर जिल्लाकै सान हुने कीर्तिमानी राख्ने मनमा इच्छा हुँदाहुँदै संघ, प्रदेश र स्थानीय तहले कुनै चासो नदेखाएको र बजेटको अभावका कारण हालसम्म सो मूर्ति बनाउन नसकेको बताए।
उनले अहिले दैलेखको गुराँस गाउँपालिकामा पंन्चदेवल, परापूर्वकालका ढुङ्गेधारा बनाइरहेका छन्। उनले कुनै पनि गारो नमिसायर पन्चदेवल बिनाउने गर्छन्। उमेरले बुढ्यौलीमा रहेका उनीमा आफूले बुट्टा भरेका मूर्तिले राम्रो पैसा पाउन थालेपछि जाँगर चल्न थालेको बताउँछन्। उनले गाउँका सबै जसो विद्यालयमा, सरस्वतीको मूर्ति बनाएका छन्। उनले युवाहरूलाई वैदेशिक रोजगारीभन्दा आफ्नै देशमा सीप सिकेर काम गर्न सुझाव समेत दिने गरेका छन्।
प्रकाशित: १६ आश्विन २०८३ १०:०० शुक्रबार





