२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीका मतदान केन्द्रमा खटिन थाले कर्मचारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्।

सवारीसाधन बाहेक पैदल १ दिनको यात्रापछि पुग्न जिल्लाको अति विकट धवलागिरी गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बिहीबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन्।

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले मतपत्रसहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो। जिल्लाका अति दुर्गम क्षेत्रमा खटिएका कर्मचारीसहित सुरक्षाकर्मीलाई कार्यक्षेत्रतर्फ पठाउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए।

‘कुनैपनि स्रोतको अभाव छैन, अतिसंवेदनशिल क्षेत्रमा जनशक्ती धेरै छ’ नेपालले भने। म्याग्दीको सदरमुकाम बेनीदेखि गूर्जा पुग्न दुई दिन लाग्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मीसहितको तयारी समेत गरिएको छ।

जिल्लाका सबै निर्वाचन केन्द्रमा मंसिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर गुर्जा तर्फ लागेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले बताए। ‘बिहिबार बेलुकीसम्म गूर्जा पुग्छौं,‘त्यहाँ पुगेर तोकिएको जिम्मेबारी अनुसार काम गछौ’ उनले भने।

एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन्। कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन्।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवक बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिने भएको छ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।  जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन् भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App