२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हरिवनको दमकल संचालनका लागि बढ्दै छन् साझेदार

सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ। हरिवनले संचालन गरेको दमकललाई संचालन गर्न बागमती र ईश्वरपुर नगरपालिका साझेदार थपिएका हुन्।

बागमती र ईश्वरपुर नगरपालिकाले हरिवन नगरपालिकालाई दमकल संचालनको लागि औपचारिक रुपमा सहयोग गर्ने सहमति जनाएका छन्।  

बागमती नगरपालिकाका नगर प्रमुख भरतबहादुर थापा र हरिवनका नगर प्रमुख रमेश बुढाथोकीले दमकलको प्रयोगको विषयमा हस्ताक्षर गरेका छन्। जुनसुकै वेला पनि आवश्यक पर्दा हरिवन नगरपालिकाले बागमती नगरपालिकालाई तुरुन्त दमकल उपलब्ध गराउनु पर्ने र त्यसवापत बागमती नगरपालिकाले वार्षिक तिन लाख रुपैया हरिवन नगरपालिकालाई उपलब्ध गराउनु पर्ने सम्झौतामा दुवै नगर प्रमुखले हस्ताक्षर गरेका हुन्।

यसअघि हरिवन नगरपालिका र ईश्वरपुर नगरपालिकाबिच पनि सोही व्यहोराको सम्झौता भइसकेको छ। आवश्यक पर्दा नजिकका सबै पालिकामा हरिवन नगरपालिकाको दमकल आगलागी नियन्त्रका लागि पुग्ने तर सम्पूर्ण संचालन खर्च हरिवन नगरपालिका माथि पर्दा हरिवनमाथि बोझ बढेको थियो। आगलागीमा दमकलको बढ्दो प्रयोगसँगै नगरपालिकाको बढ्दो आर्थिक भारलाई कम गर्न हरिवन नगरपालिकाले केही पालिकालाई दमकल संचालनको साझेदार बन्न औपचारिक पत्र पठाएको थियो।

दुई पालिकासँग दमकल संचालनका लागि साझेदार सम्झौता भएपछि हरिवन नगरपालिकालाई पनि दमकलको व्यवस्थापन र मर्मत सम्भार गर्न केही सजिलो भएको छ। दमकल संचालनमा हरिवन नगरपालिकालाई आर्थिक भार बढ्दै जाँदा र दमकलको मर्मत गर्न पनि समस्या हुँदै आएको थियो।

प्रकाशित: २९ कार्तिक २०७९ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App