११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच हजार केजी शंकास्पद रुद्राक्ष नियन्त्रणमा

अनुसन्धानका लागि राजस्व विभाग पठाइयो

नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा राखिएको रुद्राक्ष। तस्बिर: नागरिक

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको संकास्पद पाँच हजार केजी रुद्राक्ष धरानबाट नियन्त्रणमा लिइएको छ। चीन र भारत दुवै छिमेकी मुलुकमा निर्यात हुँदै आएको रुद्राक्ष आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पस्ट नभएकाले गर्दा शंकास्पद ठानेर पक्राउ गरेको हो।  

आन्तरिक राजस्व कार्यालय  धरानले रुद्राक्ष पक्राउ गरि थप अनुसन्धान गरि कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय प्रदेश नं. १ इटहरीलाई जिम्मा दिएको थियो। तर, इटहरीले सोझै  राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको हो।  

बागमती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो।  

क्रेता र बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ्’ मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो।  

राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुने विषय भएपनि आइतबार नै राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको हो। ‘विदेशबाट नेपाली मुद्रा आउने कुरा हो, गम्भीर ढंगले नै अनुुसन्धान गर्नुपर्छ भनेर विभागमै पठाएका हौं,’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले भने। उनले नेपाली किसानको उत्पादनसँग जोडिने भएको र हल्ला खल्ला बढी गर्दा विदेशीले खरीद नगरि दिँदा समस्या पनि हुने भएकाले गर्दा पनि सोझै विभागमा पठाएको जनाए।  

उनले रुद्राक्षको सन्दर्भ मूल्य नतोकिएकाले कति मूल्यको भनेर यकिन नभएपनि रुद्राक्ष नेपालबाट चिन लैजाँदा एक केजी बराबर एक रुपैयाँ राजस्व बुझाउनुपर्ने बताए।

रुद्राक्ष व्यापारीहरुको अनुसार २१ मुखे एउटै रुद्राक्ष ५० लाखभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ।  रुद्राक्षका विभिन्न रुप हुन्छन्। जसमा १४, २१ र २७ मुखे रुद्राक्ष  सबैभन्दा महँगो मूल्यमा बिक्री गरेको पाइएको छ। थोरै मुखे रुद्राक्ष भने केजीमा बिक्री हुन्छ। त्यस्तो रुद्राक्ष बिक्री गर्दा किसानले प्रतिकेजी पाँचदेखि ६० हजारसम्म लिन्छन्।  

पूर्वी पहाडी जिल्लामा साउन लागेपछि रुद्राक्ष उत्पादन सुरु हुन्छ । ढिलोमा मंसिरसम्म रुद्राक्ष टिपिसक्नुपर्छ । रुद्राक्षको मुख्य बजार संखुवासभाको खाँदबारी नै हो। भोजपुरको दिङ्ला, नेपालेडाँडा र सोमबारे क्षेत्रमा पनि बहुमूल्य रुद्राक्ष उत्पादन हुने गरेको छ ।

प्रकाशित: २७ कार्तिक २०७९ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App