८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

ताराखोलाको ऐतिहासिक भुस पोल्ने मेला

भुस पोल्ने मेलामा कोदाली जुधाउँदै युवायुवती। तस्विरः नागरिक

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। फरक संस्कार र संस्कृति हेर्नका लागि फरक जिल्ला धाउनै पर्दैन। टोल टोलमा फरक फरक संस्कृति अपनाएका नेपालीहरु बस्छन्।  

यहाँको फरक विशेषता पनि यही हो कि एकले अर्काको धर्म संस्कार रहन सहन र चाल चलनको सम्मान गर्छन्। नेपाल भित्रको नेपाल, झोलुङ्गे पुलहरुको जिल्ला लगायत अनेकौं उपमा पाएको बागलुङ पनि मौलिक संस्कृतिले भरिपूर्ण छ। सबै जाजजातिको आ—आफ्नै भेषभूषा, रहन सहन र संस्कार संस्कृति छन्।  

पछिल्लो समय निकै बढेर गएको युवा शक्तिको विदेश पलायन र पुस्तान्तरणको अभावले कतिपय संस्कार संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन्। बागलुङको ताराखोला गाउँपालिका अन्तर्गत अर्गल हिल लगायतका गाउँमा भने मगर समुदायको परम्परागत भुस पोल्ने मेला अहिले पनि जिवीत छ।

यो मेलाप्रति युवा पुस्ताको सहभागिता र चासो भएकै कारण अहिले पनि हरेक वर्ष यो मेला धुमधामका साथ सम्पन्न गर्ने गरिन्छ। जिल्लाको साविक अर्गल गाउँ विकास समितिमा बसोबास गर्ने मगर समुदायको भुस पोल्ने पर्वलाई विशेष मान्ने गरिएको छ। अधिकाँस मगर समुदायको बसोबास रहेको अर्गलमा भुस पोल्ने मेलाको छुट्टै विशेषता पनि छ। यसले परम्पराको जगेर्ना गर्नुका साथै स्थानीयलाई एकतावद्ध समेत बनाएको छ। अर्गल गाउँमा बसोबास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ती मगरको पहिचान र सभ्यताको रुपमा उनीहरुले भुस पोल्ने पर्व मनाउने गरेका छन्। प्रत्येक वर्ष कात्तिक २४ गते देखि २६ गतेसम्म यो पर्व मनाउने गरेको अर्गलका सांस्कृतिक अध्ययनकर्ता बिर्बलाल घर्ति बताउँछन्।  

‘ताराखोला गाउँपालिकाका साविकका सबै जसो गाविसहरुमा यो पर्व मनाउने गरिन्छ, अरु ठाउँमा यसलाई सामान्य नमुनाको रुपमा मनाइन्छ भने अर्गलमा विशेष कार्यक्रममा गरेर धुमधामका साथ मनाउने गरिएको छ,’ उनले भने,‘यो यहाँको मगर समुदायको सभ्यतासंग जोडिएको छ।’ भुस पोल्ने मेलाको समय सधैं एउटै हुन्छ। यो  कुनै तिथी अनुसार मनाइने चाड होइन। हरेक वर्ष कार्तिक २४ देखि २६ सम्म मनाइन्छ। यो समय अवधिमा बारीमा भुस पोल्ने, खन्ने बाली लगाउने मात्र होईन एक वर्षभरि मृत्यु भएका मानिसहरुको परिवारबाट बरखी फाल्ने (सुद्धी गर्ने) र पुत्र बढाइँ (नयाँ सन्तानको जन्मदेखि विवाहसम्मका सबै गतिविधि)  गरिन्छ। कात्तिक महिनामा यो पर्व मनाइने भएका कारण यसलाई कात्तिके समेत भन्ने गरिएको छ।

कहिलेबाट कसरी र किन यो पर्व मनाउन थालियो भन्ने ठ्याक्कै तथ्य छैन। कथ्यहरुकै आधारमा यो पर्व मनाउने गरिएको छ। यसप्रति केही चासो राख्ने र धेरथोर अध्ययन गरेकाहरुले यस बारेमा विभिन्न तर्कहरु दिने गरेका छन्।  मानिसहरु आदिम युगबाट कृषि युगमा प्रवेश गरेको सम्झना स्वरुप यो पर्व मनाउने गरिएको भन्ने तर्क बलियो छ। घर्ति भन्छन्,‘मानिसहरु कृषि युगमा प्रवेश गरेको सम्झनामा यो पर्व मनाउन थालिएको हो, भुस पोलेर बारीमा हिउँदे खेतीका लागि समय सुरु भएको सन्देश गाउँभरमा प्रवाह गर्नका लागि यो पर्व सुरु भएको हो,’ उनी भन्छन्,‘अन्नबली सप्रियोस र गाउँमा सकाल होस् भनेर विभीन्न विधि र पूजा पनि गर्ने गरिन्छ।’

भुस पोल्ने मेला एकै पटक दुई सिराबाट अगाडी बढ्छ। एकातर्फ भुस पोल्ने बारी खन्ने र बीउ छर्ने काम हुन्छ भने अर्को तर्फ मृत्युपछि संस्कार र जन्मपछिको संस्कार चल्छ। मृत्यु र जन्म संस्कारका बेला मौलिक संस्कृतिमा रहेको गोपिचन गाथामा आधारित रहेर मारुनी नाँच पनि नाँचिन्छ। भुस पोल्ने पर्व अन्तरगत कार्तिक २४ गते ऐतिहांसिक शंखुबारी (सार्वजनिक जग्गा)मा बिहानीको झुल्के कामसंगै विधिवत भुस पोलेर मेलाको सुरुवात गरिन्छ। २४ गते बेलुका वर्षभरी दिंबगत भएका अर्गली मगरको घरबाट होलादास चलाउने प्रचलन रहेको घर्ती बताउँछन्। मृतकको मावल र माईती अथवा ससुरालीमा होलादास पु¥याउने प्रचलन रहेको छ।  

होलादासमा चामल, मासु जस्ता खाद्य परिकार समावेश गरिन्छ। उक्त होलादाश बेलुका यतिकै राख्ने र भोलिपल्ट मृत परिवारका सबै दाजुभाई जम्मा भएर बाँडेर खाने चलन रहेको छ। २५ गते विहान मृतक परिवारका दाजुभाईले आफ्नो गक्ष अनुसार नगद जिन्सी उठाएर मृतकको परिवारमा लगेपछि होलदास खाने गरिन्छ। २५ गते दिउँसो नै शोङ्रा (व्यक्तिगत बारी) मा भुस पोलिन्छ। बेलुकी घर घरमा पितृहरुको स्मरण गर्दै श्राद्ध गरिन्छ।  

कार्तिक २६ गते बिहानी भालेको डाँकोसंगै मृतकका मूल भान्जाले देवी देउतालाई ध्वजा बाँध्ने र घरमूलीले पितृलाई चढाउने काम सकेपछि पञ्चकन्या खुवाउने चलन छ। ती सबै काम घाम झुल्किुन अगावै सक्नुपर्छ । घाम झुल्केपछि मूल ज्वाँईले केश मुण्डन गरेर सबैलाई सुद्ध बनाउँछन्।

 टिका दक्षिणा प्रदान गर्ने काम हुन्छ। संगै गर्रा भाई (मारुनी नाँच्ने समूह)ले मारुनी नाँच्दै मृतकका आफन्तप्रति आशिर्वचन दिएर मृत्यु संस्कार सम्पन्न हुन्छ। यो मारुनी नृत्य गोपिचन गाथामा आधारित हुन्छ। बरखी फाल्ने र पितृ कार्य गर्ने दिनको अघिल्लो रात मृतकको घरमा रातभर जाग्राम बस्ने गरिन्छ। उनीहरुको चलन अनुसार तीन दिन अघिसम्म निधन भएको भए पनि २६ गते बरखी फालेपछि मृत्युपछि गरिने सबै संस्कार पूरा हुन्छ। तर २६ गतेपछि निधन भएमा एक वर्ष भरी बरखी बार्नुपर्ने हुन्छ। २६ गते पुर्खाहरुले खेति गरेको सम्झनामा शंखुबारीमा छापे खन्ने र पूजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ। दिउँसो ४ बजेको समयमा शंखुघरमा पूजाआजा गरी शंखुबारीमा छापे खन्ने गहुँ,जौ छर्ने गरिन्छ।

छापे खन्ने काममा लागि उमेर विवाहयोग्य उमेर पुगेका तर विवाह नभएको युवायुवतीहरु मात्र योग्य मानिन्छन्। विवाहितहरुले बीउ छर्नका लागि सघाउँछन्। मगरहरुमध्ये नाईसा थरको मुख्य व्यक्तिले प्रार्थना गर्छन्। अविवाहित युवा युवतीको समुह बारीको मेलो नसकिँदासम्म नबिसाइकन कोदालो खन्नुपर्छ। अन्तिममा युवा र युवतीबीच कोदालो तानातान गर्ने र जसले आफुतिर तान्छ उसैको जित हुने गर्दछ। कोदालो जुधाउने काम प्रतिस्पर्धाका लागि नभई सकाल होस् भनेर गर्ने गरिएको बिर्बलाल बताउँछन्। ‘कोदालो जुधाएपछि अनिकाल पर्दै बाली सप्रिन्छ भन्ने मान्यता छ, त्यसै कारणले यो परम्परा चलाइएको छ,’ उनले भने,‘बैंशका युवा युवतीले कोदालो तानातान गर्दा रमाईलो पनि हुने र हेर्नेहरुका लागि पनि मेला जस्तो पनि हुने भो।’  

बरखी फाल्ने र पुत्र बढाइसंग सम्बन्धित गोपीचन नाँच पनि उनीहरुले मृतकको घरमा र छोरो जन्मेको घरमा नाँच्ने गर्दछन्। पौराणिक कालमा मणिचन भन्ने राजाको छोरा गोपीचन जन्मेको दिन मणिचन राजाको मृत्यु भएपछि जन्म र मरणको संस्कार एकै पटक मनाउनको लागि यो नाँच नाँच्ने उनीहरु बताउँछन। वर्षभरी जन्मेका जेठा छोराको मात्र पुत्र बढाइँ गर्ने गरिन्छ। पवित्र कार्य गर्नका लागि चोखो सुद्ध आवश्यक पर्ने भएका कारण मत्यु संस्कार पहिले सकेर अनि जन्मसंस्कार गरिने बिर्बलाल तर्क गर्छन्। पुत्र बढाइँ गर्दा गोपीचन नाँच नाँच्नेहरु जन्मपछि विवाहसम्म गर्ने सबै क्रियाकलापहरु हाउभाउको माध्यमबाट देखाउँछन्। त्यसले गर्दा यसलाई धेरैले चासोका साथ हेर्ने गर्छन्। पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा मनाउने गरिएको छ। दशैं तिहार भन्दा पनि विशेष चाडको रुपमा यसलाई यहाँ मनाइन्छ।

१६ औं शताब्दीमा पाल्पाको अर्गलीबाट यहाँ आएका मगरहरुले यो परम्परा थालेको सबैले स्वीकारे पनि तथ्यसंग जोड्न अहिलेसम्म नसकिएको सामाजिक अगुवा यामबहादुर घर्ती बताउँछन्। ‘हामीले पाल्पाबाट आएको कुरामा कुनै दुईमत देखिदैन, हाम्रो अधिकाँस भाषाहरु बाह्र मगराँतसंग मिल्छ,’ उनले भने,‘केही चाल चलन र संस्कृति भने अठार मगराँतसंग पनि मिल्ने भएकाले यसलाई तथ्यमा पुष्टी गर्न सकिरहेका छैनौं।’ भुस पोल्ने मेलालाई लोप हुन नदिनका लागि स्थानीय युवासंगै सामाजिक अगुवाहरु पनि सक्रिय छन्। ‘यो हाम्रो माटोसंग जोडिएको सवाल हो,’सामाजिक अगुवा घर्ती भन्छन्,‘त्यसैले पनि यसलाई जोगाउनुपर्छ भन्ने कुरामा सबैको एकमत छ। सबै यसमा सहभागी हुन्छन्।’

यो संस्कारमा भएका राम्रा कुरालाई लिपीवद्ध गरेर स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिए यसको थप व्यापकता हुने उनको बुझाई छ। पछिल्लो समय पर्वको प्रवद्र्धनका लागि एक दशकदेखि स्थानीय अर्गल खेलकुद विकास मञ्चले विभीन्न कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ। यसलाई थप प्रचार प्रसार गरी व्यापक बनाउनका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहर पनि आयोजना गर्न थालिएको मञ्चका सचिव सूर्यबहादुर घर्तीले बताए। ‘विभीन्न प्रतियोगितात्म कार्यक्रम गरेर बाहिरबाट पाहुनाहरु बोलाउँदा यसको थप प्रचार प्रसार हुन्छ भन्ने लागेर हामीले कार्यक्रमको आयोजना गर्न थालेका हौं,’ सचिव घर्तीले भने,‘ताराखोलाको संस्कृतिसंग बाहिरका व्यक्तिहरुलाई जोडेर प्रचार प्रसार गर्न सकयोस् भन्ने नै मूल उद्देश्य हो।’  

मगर बाहुल्य रहेको अर्गलका अन्य समुदायको समेत सक्रियतामा भुस पोल्ने मेलामा सहभागी हुने गरेका छन्। युवा पुस्ताको पलायनले गर्दा हाम्रा कतिपय मौलिक सस्कृति र परम्परा लोप हुन लागेको अबस्थामा अर्गलमा भने युवा युवतीहरु यस पर्वको संरक्षणमा लागेका छन्। युवायुवतीहरुकै सहभागीतामा यो मेलाको प्रक्रिया अगाडी बढ्ने भएकाले यसप्रति उनीहरु आकर्षित छन्। मारुनी नाँच्ने, नौमती बाजा बजाउनेदेखि छापे खन्ने लगायतका कार्यहरुमा युवा युवती उत्साह जनक रुपमा सहभागी हुने गरेका छन्।

समग्र ताराखोलाका संस्कार संस्कृतिलाई जगेर्ना गर्न र युवा पुस्तामा हस्तान्तरण गर्नका लागि गाउँपालिका विभीन्न कार्यक्रम ल्याउने योजना रहेको गाउँपलिका उपाध्यक्ष भीमबहादुर रोकाले बताए। ‘यहाँका यी संस्कृतिहरुको डकुमेन्ट्री बनाएर प्रदर्शन गर्ने भन्ने पनि सोंचाई बनाएका छौं,’ उनले भने,‘अहिले हामीसंग ठ्याक्कै यही गर्ने भन्ने कार्यक्रम छैन। सोंच बनाएका छौं। व्यवस्थीत गरेर अगाडि बढ्छौं।’  

प्रकाशित: २७ कार्तिक २०७९ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App