१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एउटै ढुंगा कुँदेर बनाइएको फाल्गुन्दको सालिक अनावरण गरिँदै

फाल्गुनन्दको सालिक अनावरणसहित १ ३८औं फाल्गुन्द जयन्तीका बारेमा जानकारी गराइँदै।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बनेको किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिकको कात्तिक २५ गते अनावरण हुने भएको छ। १५ फिट अग्लो र एउटै ढुंगाबाट बनेको १ सय ३५ क्विन्टल वजन भएको सालिकको अनावरण प्रदेश १ का प्रमुख पर्शुराम खापुङको उपस्थितिमा किराँत धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा साँवाले गर्ने भएका छन्।

फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमसँगै उक्त सालिक अनावरण गर्न लागिएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। उनका अनुसार एउटै ढुंगा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालमा पहिलो पटक निर्माण गरिने भएकाे छ।

सालिक निर्माणको क्रममा करिब एक करोड रुपैयाँ खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए। फुङलिङमा पटक–पटक महागुरु फाल्गुनन्द लिङ्देनको उपस्थिति भएको स्मरण र सम्मानमा सालिक निर्माण भएको निर्माण समितले बताएको छ।

फुङलिङको तोक्मे क्षेत्रमा निर्माण भएको सालिक अनावरणसँगै फुङलिङ नगरपालिका वडा नं ६ काहुलेमा निर्माण भएको किराँत हाङसाम माङहिम तथा किराँत साम्यो माङ्सेवासावा थुम पाञ्जुम्भो भवनको समेत उद्घाटन कार्यक्रम राखिएको फाल्गुनन्दको १३८औं जन्मजयन्ती मूल समारोह समितिका अध्यक्ष कर्ण पालुङ्वाले बताए।

उनका अनुसार जन्मजयन्तीको मूल कार्यक्रम कात्तिक २५ गते हुने भएपनि अन्य कार्यक्रम भने २१ गतेबाटै सुरु हुने छ। उनका अनुसार कात्तिक २१ गते काबेली नदीमा गाली श्राप बगाउने तथा सेवा पूजा हुने छ। २२ गते किराँत हाङ्साम माङहिममा विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ महाअष्टम होमादी यज्ञ सेवा हुनेछ। २३ र २४ गते नाम्धुङ लाधुङ सेमी सेवा कार्यक्रम सञ्चालन हुनेछ भने कात्तिक २५ गते कार्यक्रमका प्रमुख अथिति १ नं प्रदेश प्रमुख खापुङको प्रमुख आथित्यतामा कार्यक्रम शुभारम्भ हुनेछ।

सालिक अनावरणसँगै औपचारिक कार्यक्रम, धर्मगुरुबाट आर्शीवचन र साँझ घर-घरमा तथा महागुरुको सालिक वरिपरि दीपावलीको कार्यक्रम तय गरिएको आयोजक संस्थाका सरोज कङ्लिवाले जानकारी दिए।

किराँत धर्मका महागुरु फाल्गुन्द लिङ्देनलाई समाज सुधारकको रुपमा लिइन्छ। आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा, समाज सुधार, किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहेका लिङ्देनले आफ्नो जीवनकालमो देशद्रोहीको अभियोग पनि खेप्नु परेको थियो।

वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउँदै आएका छन्। फाल्गुनन्दले समाज सुधारका निम्ति वि.सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ’सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुशरण गर्ने गर्छन्।

फाल्गुन्दलाई आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नुपर्ने, मासुमंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त भएको मानिन्छ।

आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुँदैन, मदिरा सेवनगरी असामाजिक क्रियाकलाप गरी मति भ्रष्ट हुनु हुँदैन, विवाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उचो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउँदा उनी खुशी हुदैनन् त्यसैले पशुबली गर्नु हुन्न बरु त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु पर्छ सामाजिक चेतना फैलाउने मुख्य सुत्रधारको रुपमा फाल्गुनन्दलाई लिन गरिन्छ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्म विक्रम सम्वत् १९४२ को कात्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङ्देन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङ्देन थियो।

प्रकाशित: २० कार्तिक २०७९ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App