८ वैशाख २०८१ शनिबार
समाज

पोखरा महानगरः डोजर त चलायो तर, कोतरेर मात्र छाडियो

अन्डरग्राउण्ड खाली गराउन डोजर लगाउँदै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य । तस्बिर: उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहकै शैलीमा सडकमा उत्रिएका छन्। पोखराका मेयर आचार्य बालेन शैलीमा डोजर लिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउन लागिपरेका छन् ।

पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुल लगायतका क्षेत्रमा आचार्य मंगलबार बिहान डोजर सहित पुगेका थिए। महानगर प्रहरीको एक टोली लिएर पुगेका उनले चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशालबजार लगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन डोजर लगाएका हुन्। चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु गरेको भन्दै केहि समय मागेपछि त्यत्तिकै फर्काएका थिए। तर आचार्यले निश्चित समयमात्र दिन सकिने भन्दै भने, ‘तपाईंलाई यो पूरै हटाउन कति समय लाग्छ ? २४ घण्टा ? ४८ घण्टा वा ७२ घण्टा ? धेरै दिन हामी दिन सक्दैनौं, रातारात हटाउने हो भने तपाईंलाई एक मौका भो।’

अन्डरग्राउण्ड खाली गराउन डोजर चलाईए पनि सामान्य कोतरेर मात्र फर्किएको छ। प्रवेशद्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा सामान्य डोजरले कोतरेर छाडिएको हो। अन्डरग्राउण्ड भित्र रहेका बजार र सामानहरु भने जस्ताकोतस्तै छाडिएका छन्। महानगरपालिकाले पोखरा सिटी भित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न पटकपटक आग्रह गर्दै सूचना निकालेको थियो। तर सूचनालाई अटेर गर्दै अन्डरग्राउण्ड पार्किङ नहटाएका ठाउँहरुमा महानगरले डोजर चलाएको हो।

डोजर लिएर पुगेका मेयर आचार्यले घरधनी र व्यवसायीलाई पटकपटक आग्रह गर्दापनि अटेर गरेकाले डोजर चलाउनु परेको बताए। ‘बारम्बार आग्रह गर्दापनि बेवास्ता गर्नुभयो, सायद! पहिलेजस्तै अहिले पनि केहि गर्दैन क्यारे भन्ने सोंच्नुभयो होला। तर अब त्यस्तो हुँदैन, हामी हाम्रो अभियान सफल बनाएरै छाड्छौ,’–उनले भने।

व्यवसायीले भने महानगरको अभियानमा आफूहरु बाधक नबन्ने बताए। चाँडपर्वहरु दशैं, तिहार, छठ पर्वलगायतका कारण अन्डरग्राउण्ड खाली गराउन ढिला भएको उनीहरुको भनाई थियो। बिगबजारका धनी सुशीलबाबु बुद्धाचार्यले भने, ‘हामी महानगरको अभियानबिरुद्ध छैनौं। यसलाई सफल बनाउन हामी सघाउँछौं तर हामीलाई पनि केहि समय दिनूस्।’ उनले नजिकै अर्को बिल्डिङमा सार्ने काम भईरहेकाले चाँडै खाली गर्ने बचन दिए।

महानगरपालिकाले पोखरामा जनघनत्व र सवारी साधनको चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्ने अभियान सञ्चालन गरेको हो। महानगरको सूचनापछि केहि व्यवसायीले अन्डरग्राउण्ड खाली गराईसकेका छन् भने केहिले अटेर गरेपछि डोजर चलाउन शुरु गरिएको हो।

पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान छ। नत्र महानगरले नक्सा पास नै गरिदिदैन। अन्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले पाउँछ। महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गर्ने गरेका छन्। राजश्वमा छुट पनि लिन्छन्। तर घर निर्माण भईसकेपछि भने अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन्। बरु त्यो तलालाई उनीहरुले व्यवसायीक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्नेगरेका छन्। 

करिब २५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सा पास गराउँदै ५० प्रतिशत छुट लिएपनि व्यवहारमा उतारेका छैनन्। २५० मध्ये करिब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्ने गरेको पोखरा महानगरपालिकाका ईञ्जिनियर सुरेन्द्र पौडेलले बताए। उनीहरुले अरुका लागि पार्किङ दिनु त परको कुरा आफ्नै साधनपनि सडकमा लगेर पार्किङ गर्ने गर्छन्। त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाईकल ग्यारेज, मोवाईल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय हुने गरेका छन्।

एकातिर पार्किङका लागि बनाइएको घरको अन्डरग्राउण्डलाई व्यवसाय गर्ने थलो र गोदाम बनाईरहँदा अर्कोतिर पार्किङको समस्या पोखरेलीले झेलिरहेका छन्। पोखराका चोक तथा नजिकका क्षेत्रहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोकमा पार्किङ अभाव छ। सोहि कारण सर्वसाधारणहरु पार्किङ खोज्दै तलमाथि गर्न बाध्य छन्। अर्कोतर्फ पार्किङ गर्ने ठाउँ नभेटेपछि बाध्य भएर दोहोरो, तेहेरो पार्किङ गर्नुपर्ने समस्या पोखरेलीले भोग्दै आएका छन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App