देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ। कृषि विभागका अनुसार हालसम्म कुल धानखेतीयोग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
विभागको तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिसम्म ९६ दशमलव ०८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो। यस वर्ष गत वर्षको तुलनामा रोपाइँको दर करिब २ प्रतिशतले बढेको हो।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
यस्तै, कर्णालीमा ९८ दशमलव ५० प्रतिशत, मधेशमा ९८ दशमलव १० प्रतिशत, लुम्बिनीमा ९७ दशमलव ८७ प्रतिशत, बागमतीमा ९७ दशमलव ८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६ दशमलव ६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
मधेश प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ भएको थियो।
कृषि विभागले समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारसम्बन्धी गतिविधि प्रभावकारी हुनुले यस वर्ष धान रोपाइँको गति बढेको जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १३:५३ आइतबार




