१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

शव ढुवानी वापतको रकम व्यवसायी परशुराम चपाँईले तिरिदिने

सम्झौता पत्र हस्तान्तरण गर्दै चपाँई र सोडारी।

टीकापुर अस्पतालले शव ढुवानी वापत लिँदै आएको सम्पूर्ण रकम एक जना व्यवसायीले व्यहोर्ने भएका छन्। टीकापुरस्थित नयाँ तुलसी ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक परशुराम चपाँईले अस्पतालले शववाहनमा शव ढुवानी गरे वापत लिँदै आएको रकम तिरिदिने भएका हुन्।

यस बारेमा प्रालि र अस्पताल व्यवस्थापन समितिबीच आज सम्झौता भएको छ। प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चपाँई र समितिका तर्फबाट अध्यक्ष झपट सोडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार चपाँईले अस्पताललाई एकमुष्ठ वार्षिक ३ लाख रुपैयाँ तिर्ने छन्।

अस्पतालले टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाभित्र शव ढुवानी वाफत कुनै पनि संघसंस्था र व्यक्तिहरुबाट रकम लिन नपाइने भएको छ। ती बाहेकका ठाउँमा शव ढुवानी वापत भने अस्पतालले तोकेको रकम असुल्न सक्ने सम्झौतामा उल्लेख छ।

अस्पतालले यसअघि टीकापुर नगरपालिका भित्र शव ढुवानी गरे वाफत २ हजार रुपैयाँ लिने गरेको थियो। चपाँईले सबै रकम व्यहोर्ने भएपछि अब तीनवटा पालिकाका कुनैपनि व्यक्तिले आफन्तको शव ढुवानी गरे वापत रकम तिर्नुपर्ने छैन। अस्पतालले सञ्चालन गरेको शववाहन समेत नागरिकस्तरबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको थियो।

टीकापुर सरोकार समूहको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो। समूहले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको थियो। अस्पतालमा उपचारका क्रममा निधन भएका व्यक्तिहरुलाई शववाहनले सम्बन्धित व्यक्तिको घर वा दाहसंस्कार गर्ने स्थलसम्म पर्‍याउने गरेको छ।

प्रकाशित: ५ कार्तिक २०७९ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App