१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६ लेन सडकको काम तिहार पछि सुचारु हुने

निर्माणाधिन ६ लेन सडक। तस्बिर: योगेश रावल/नागरिक

निर्माणाधिन अवस्थामै अलपत्र परेको ६ लेन सडकको काम तिहार लगत्तै सुचारु हुने भएको छ। निर्माणको जिम्मा लिएका चिसापानीका जनकबहादुर शाहीले काम अधुरो छोडेर सम्पर्कबिहिन भएपछि टीकापुरको जमरापुलदेखी बसपार्कसम्मको सडक निर्माणको काम अलपत्र परेको हो।  

चार वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न हुन नसकेको भन्दै स्थानीयले चर्को विरोध गरेपछि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले निर्माण कम्पनी रोमन के.एस. जेभीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरेको छ।  

‘निर्माण कम्पनीको मुख्य पक्षलाई हामीले पत्राचार गरिसकेका छौं’ कार्यालयका इञ्जिनियर मोहन अवस्थीले भने–‘समय भित्रै निर्माण कार्य सम्पन्न गर्न भनेका छौं।’

निर्माण कम्पनीले २०७५ असोज ११ गतेदेखि आयोजनाको काम शुरु गर्न शाहीलाई जिम्मा दिएको थियो। शाही सो कामका पेटी ठेकेदार हुन्। उनले जमरापुलदेखि बसपार्कसम्मको कालोपत्रेको अधिकांश काम भने सम्पन्न गरेका छन्। हाटबजार नजिक सडकको केही भाग कालोपत्रे हुन सकेको छैन।  

जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलब ३ किलोमिटर सडकको दुबैतर्फको पैदल मार्ग, नाला निर्माण, विद्युत पोलको व्यवस्थापन, कल्भर्ट निर्माण लगायतका काम भने हुन सकेको छैन।  

सडक छेउछाउमा निर्माण सामाग्री राखिएको छ। जसका कारण सवारी दुर्घटना हुने गरेको छ। निर्माण सम्पन्न भएको नाला समेत भत्किन थालेको छ। नाला माथि निर्माण गरिएको अधिकांश ‘स्ल्याप’ टुटेका छन्।  

सडक निर्माणको ठेक्का पाएको रोमन के.एस. जेभीका सञ्चालक भीम पालले टीकापुरको छ लेन सडक बारे कार्यालयले समेत ध्यानाकर्षण गराएको बताउँदै तिहार लगत्तै निर्माणको काम सुचारु गर्ने जानकारी दिए।  

‘शाहीजीले बिचमै छोडेर हिड्नु भयो। अब हामी आफै काम गर्छौ’ उनले भने–‘त्यो हाम्रो जिम्मेवारी पनि हो। असार भित्रै काम सम्पन्न हुन्छ।’

सडक निर्माणको काम २०७७ फागुन ७ गते भित्र सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो। संघीय सरकारको २० करोड रूपैयाँको लागतमा निर्माण हुने सो सडक निर्धारित समयमा सम्पन्न हुन सकेन।  

कोरोनाको बहाना बनाएर सडक निर्माणमा दुई पटक म्याद थप गरिएको छ। पछिल्लो पटक सडक निर्माणको म्याद २०८० असार मसान्त सम्म तोकिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App