१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कर्णालीमा पहिरोले अहिलेसम्मकै बढी क्षति

पहिरोले क्षती पारेका घर र सडकहरु। तस्विर: ललित विष्ट/ कालिकोट

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भयो। कालिकोटको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो।

हालसम्म ७ जनाको शव भेटिए पनि १६ जना अझै बेपत्ता छन्। कालिकोटका ९ वटै स्थानीय तहमा गरी ५ सय ९० घर पूण रुपले भत्किएका छन्। ७ सय ४२ घर आशिंक रुपले भत्किएका छन् भने ७ सय १३ घर उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताएका छन्।  

पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरसहित जिल्लाका स्थानीय तहमा खनिएका ६३ वटा ग्रामीण सडकमा क्षति पुगेको छ। ठाउँ–ठाउँको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको दैलेख सुर्खेत खण्ड पनि सोमबारदेखि खुलेको छ। मान्मदेखि जुम्मा खण्डको सडक पनि खुलाउन सुरु भएको छ। मंगलबार कालिकोटको चौखोलासम्मको सडक संचालनमा आए पनि कर्णाली करिडोर पूरै अवरुद्ध भएको प्रहरी प्रमुख जयस्वर रिमाले बताएका छन्।

वर्षा सुरु भएदेखि गाडी नचलेकाले कर्णालीका कालिकोट,जुम्ला,मुगु र बाजुराको पूर्वी भेगमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको अभाव भएको छ। ‘सडक छैन,ढुवानी नहुँदा खाद्यान्नकै हाहाकार होलाजस्तो छ,’ रेडक्रस कालिकोटका जिल्ला सभापति बलप्रसाद संज्यालले भने,’ मूल्य पनि वृद्धि भएको छ।’

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको पिली र जुम्लाको रारालिहीमा काम भइरहे पनि राजमार्ग खुल्न अझै एक साताभन्दा बढी लाग्ने सडक डिभिजन कार्यालय जुम्लाको जनाएको छ। कर्णाली करिडोरको कालिकोट र बाजुरा खण्ड पूरै अवरुद्ध छ। कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि छैन्।  

कालिकोटको रास्कोट नगरपालिका,सान्नीत्रिवेणी,पचालझरना र पलाता गाउँपालिकाका बासिन्दाहरूले आवतजावत गर्ने रैंगिल हुँदै लालीघाट जितेको बाटो लुसाको पहिरोले अवरुद्ध हुँदा पैदल हिँड्न पनि जोखिम रहेको बताएका छन्।

लुसा गाउँबाट निरन्तर बगिरहेको पहिरोले कर्णाली करिडोर खुले पनि आउजाउ गर्न कठनाइ हुने भएकाले नेपाली सेनालाई बगिरहेको ठाउँको पूरै माटो पानीले बगाएर पहिरो सफा गर्न आग्रह गर्नेबारे छलफल भइरहेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

असोज १९ गते दसैंको टीकाको दिनदेखि लगातार भएको भीषण वर्षाले कालिकोटको खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको थियो भने बाँकी दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भयो। कर्णालीवासीको भरपर्दो आवतजावत गर्ने एक मात्र कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको जनजीवन कष्टकर भएको छ। हवाइजहाज पनि नचलेकाले जुम्ला,मुगु,हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दा पनि पैदल हिँडेर आउजाउ गर्न बाध्य छन्।

स्थानीयहरूले सडक अवरुद्ध भएपछि ३/४ दिन लगाएर पैदल हिँड्नु परेको गुनासो छ। भिरालो जमिन, बढ्दो वन फडानी,अतिबृष्टिले बढी पहिरोको जोखिम रहेको कालिकोटमा २०७४ को स्थानीय चुनावबाट चुनिएका जनप्रतिनिधिले गाउँ गाउँमा सडक पु¥याउने चुनावी प्रतिबद्धता पूरा गर्न वातावरणीय प्रभाव मूल्यांकन बिना नै खनिएका सडकले धरै ठाउँमा पहिरो निम्त्याएको नागरिक समाजका अगुवा लिलाराम न्यौपानेले बताए।

धेरैबस्ती जोखिममा

पहिरोले कालिकोटका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन्। सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सयभन्दा बढी घर पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका हो। तिलागुफाको पनि छाप्रेका टाकुल्ला,छाप्रे,ओखरभित्ता, खल्लालगायत बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

रास्कोटका–११, सान्नीत्रिवेणीका–७, तिलागुफाका–७, खाडाचक्रका–७, शुभकालिकाका–४, महाबैका–५, पचालझरना र पलाताका–५ र ७ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। ती बस्तीका स्थानीयहरू साँझ पानी परेको बेला घरमा बस्न सक्ने अवस्था छैन्। कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन्। पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिञ्चाइ कुलो, बाटोसहितमा क्षेती पुगाएको नरहरिनाथ गाउँपालिका–९का वडा अध्यक्ष प्रदिप बोहोराले बताए।

पहिरो पीडितले पाएनन राहात

कालिकोटको पहिरोमा ज्यान गुमाएका पीडित परिवारले अझै सरकारबाट पाउने नगद राहत रकम नपाएको गुनासो गरेका छन्। जिल्ला प्रशासनले स्थानीय तहबाट सिफारिससहित कागजात आएकालाई बैंकमार्फत् नगद राहत दिने जनाएको छ।

पहिरोमा घर क्षति भएका केही परिवारलाई सरकारले हेलिकप्टरमार्फत पाल,खाद्यान्न लगायत सामग्री झारे पनि धेरैले पाएका छैनन्। अन्न,लत्ताकपडा र भाँडाकुँडा पहिरोले बगाएपछि पनि उनीहरूलाई सास्ती भएको तिलागुफाका विक्रमबहादुर शाहीले बताए।  

जुम्लामा ग्यास र पेट्रोल अभाव

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ। बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ।  

अनुमगनका क्रममा झण्डै २ महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताइन्। १० वटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

कालिकोट खण्डको पहिरो पन्छाइयो

कर्णाली राजमार्गअन्र्तगत कालिकोटसम्मको सडक अवरुद्ध हटेको छ।कालिकोट सदरमुकाम मान्मदेखि जुम्मा तर्फको सडक अवरुद्व हटेको हो। जिल्लाकै सेरीघाट क्षेत्रमा नेपाली सेनालगायतको सहयोगमा पहिरो हटाउने कार्य सकिएको छ।

तिलागुफा नगरपालिका–७ स्थित बाली क्षेत्रमा समेत पहिरोले सडक अवरुद्व रहेको छ। जुम्लातर्फ भने तीला गाउँपालिका–१ गाडगोडेनी क्षेत्रमा पहिरो हटाउनका लागि तीन वटा जेसिभीले काम गरिरहेका छन्। मुगु सडक खण्ड तर्फ मात्र सात स्थानमा पहिरोले सडक अवरुद्व छ। कालिकोट खण्ड खुलाउने कार्य तिब्र गतिमा भईरहेको प्रमुख जिल्ला अधिकारी रामहरि र्शमाले जानकारि दिए।

प्रकाशित: ३ कार्तिक २०७९ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App