४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

रानीपोखरीमा डुबेर पुन: एक महिलाको मृत्यु

पटकपटक मान्छे डुबेर मृत्यु हुने गरेको जलजलेस्थित रानी पोखरी। तस्विरः महेश्वर

त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानी पोखरीमा डुबेर अर्की महिलाको मृत्यु भएको छ। उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले परिसरभित्र रहेको पोखरीमा मंगलबार साँझ डुबेर त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको मृत्यु भएको हो।  

गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको उद्धार गरी उपचार गर्न लाने तयारी गरिरहेका बेला मृत्यु भएकाे प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी स्थानीयका अनुसार मंगलबार साँझ गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर मृत अवस्थामा अन्य गोठालाहरुले फेला पारेका हुन्।  

महिला डुबेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धारका लागि त्यहाँ पुग्दा उनको मृत्यु भईसकेको स्थानीयले बताए। मृतकको शव बुधबार उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए।

सो पोखरीमा ६ महिनाअघि मात्र एक महिलाको डुबेर मृत्यु भएको थियो। मृतकका आफन्तका अनुसार जलजलेकै ५२ वर्षीया नशीमाया परियारको गत फागुनमा त्यसैगरी पोखरीमा डुबेर ज्यान गएको थियो। अहिले मृत्यु भएकी दैया र नशीमाया आफन्त नै भएको पनि उनीहरुले बताए। वर्षेनी सो पोखरीमा १/२ जनाको ज्यान जाने गरेको स्थानीयको भनाई छ। प्रहरीले पनि सो पोखरीमा यसअघि पटकपटक मान्छेहरु डुबेर मर्ने गरेको जनाएको छ। 

चुरे जंगलसँग जोडिएको उसिउलिको खाली जमिन क्षेत्र गाईघाट–जलजले सडक छेउमै रहेको ठूलो पोखरी उद्योगले माछा पालनका लागि ठेक्का लगाउँदै आएको छ। उद्योग परिसर, जंगलछेउ र घाँसेक्षेत्रसँगै पोखरी पनि भएकाले त्यसभेगका स्थानीयहरु सो ठाउँमा गाईबस्तुको चरण बनाउदै आएका छन्। गाईबस्तु चराउन, घाँस दाउरा गर्न र युवायुवति तथा बालबालिका नुहाउन, लुगा धुन र पौडी खेल्न आउने क्रममा पटकपटक डुबेर ज्यान जाने गरेको स्थानीयको भनाई छ ।

वर्षेनी यसरी दुःखद घट्ना हुने सो पोखरीको घेराबार तथा सुरक्षा व्यवस्था गर्नुपर्ने पनि स्थानीयको माग छ। ‘यो पोखरीमा धेरै मान्छे मरिसके, वर्षेनी नुहाउदा, पौडी खेल्दा, लुगा धुँदा डुबेर मर्ने क्रम चलिरहेको छ’ स्थानीय पानमाया परियारले भनिन् ‘यस्तो घट्ना हुन नदिन पोखरी वरिपरि घेराबार गर्न पाए सुरक्षित हुन्थ्यो होला कि?’ स्थानीयको मागको विषयमा उद्योग व्यवस्थापन, प्रशासन र नगरपालिकालगायत सरोकारवालाहरुलाई सँगै राखेर एकपटक छलफल गर्नपर्ने आवश्यक्ता रहेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।

प्रकाशित: २ कार्तिक २०७९ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App