१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा १ हजार ६० जनाको नाम अस्थायी मतादाताको प्रारम्भिक सूचीमा, थपघट हुन सक्ने

ताप्लेजुङमा अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ करिब पन्ध्रसय जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम अन्तिम मतदाता नम्बरसंग भिडेको छ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङको अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ १ हजार ४ सय ९१ जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम मात्र अन्तिम मतदाता नम्बरसँग भिडेको हो।

खनालका अनुसार प्राप्त भएका १ हजार ९ सय ९१ जनाको बिबरणमध्ये ३ सय ३१ जनाको नाम मतदाता नम्बर बिनै प्राप्त भएको थियो भने ९० जनाको विवरण मतदाता नम्बरसँग नमिलेको अवस्था देखिएको छ। अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०७९ ले जिल्ला निर्वाचन अधिकारीलाई अस्थायी मतदाता नामावली संकलन कार्यका लागि प्रमुख नाम दर्ता अधिकारी तोकेको छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालनमा रहेको बृद्धाश्रममा बसेका व्यक्तिको नामावली अस्थायी मतदाताका लागि संकलन गर्नुपर्ने व्यवस्था रहेको थियो।

अस्थायी मतदाता संकलन तथा व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रारम्भिक मतदाता नामावलीलाई जिल्ला निर्वाचन कार्यालयमा टाँस गर्ने, सम्बन्धित निकाय वा संस्थामा पठाउने, प्रमुख नाम दर्ता अधिकारीको कार्यालयले पठाएको प्रारम्भिक नामावली सम्बन्धित निकायले सम्बन्धित व्यक्तिले देख्नेगरी टाँस गर्ने निर्णय गरेको छ।

प्रारम्भिक नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटी भएकाहरुले अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न त्रुटी सच्याउनका लागि प्रमाणसहित कात्तिक ३ गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने भएको छ।

अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ४ को नं १५ को उपदफा ३ मा अस्थायी मतदाता नामावलीमा नाम समावेश नभएको कर्मचारी वा सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाउनुपर्ने अवस्था भएमा निर्वाचन अधिकृतले मतदाताको अन्तिम नामावलीमा नाम रुजु गरी सो नामावलीमा नाम समावेश भएका व्यक्तिको नाम दाबी विरोधको प्रकृया पूरा गरी अस्थायी मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ।

यस अनुसार अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ प्राप्त भएकोे प्रारम्भिक विवरणमा केही थपघट भने हुन सक्ने देखिएको छ। अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्।

प्रकाशित: २ कार्तिक २०७९ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App