१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जथाभावी रोक्ने बसलाई कारबाही गरिने

टीकापुर नगरपालिकाले तोकिएको स्थान भन्दा अन्यत्र यात्रु ओराल्ने र चढाउने सार्वजनिक सवारी साधनलाई कारबाही गर्ने भएको छ।

नगरपालिका, इलाका प्रहरी कार्यालय र बस व्यवसायी समितिहरुबिच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। छलफल पश्चात यात्रु चढाउन र ओराल्नका लागि मुख्य बसपार्क र सिटी बसपार्कमा मात्रै रोक्ने सहमति भएको छ।

नगरपालिकाका नगर उपप्रमुख खड्गबहादुर शाहले व्यवसायीहरुसँगको छलफलपछि मुख्य बसपार्क र सिटी बसपार्कमा मात्रै गाडी रोक्ने सहमति भएको बताए। ‘जथाभावी पार्किङ हुँदा सडक नै अवरुद्ध हुने गरेको पाइयो’ उनले भने ‘ट्राफिक व्यवस्थापनका लागि समेत तोकिएको निश्चित स्थानमा मात्रै गाडी रोक्न आजैदेखि लागु हुने गरी सहमति गरेका छौं।’ ‘हामीले जुन प्रावधानका लागि संरचना बनाएका छौं, त्यसैको प्रयोग गर्नुपर्छ, बसपार्क बनेको छ, सिटी बसपार्क छ’ उनले भने ‘बस जथाभावी सडकमा रोक्नु त राम्रो भएन।’

यसअघि समेत नगरपालिका र समितिबिच सार्वजनिक सवारी साधनलाई बसपार्क र सिटी बसपार्कमा मात्रै यात्रु ओराल्ने र चढाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन। उपप्र्रमुख शाहले निर्णयको कार्यान्वयन भए नभएको बारे नियमित अनुगमन गरिने बताए। ‘प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको टिमले नियमित अनुगमन गर्ने व्यवस्था गर्छौं’ उनले भने ‘नियमको पालना नभए नियमानुसार ट्राफिक प्रहरीले जरिवाना काट्नु हुन्छ।’

कर्णाली रिभर साइड बस व्यवसायी समितिका इञ्चार्ज धु्रव ठकुल्लाले बसपार्क र सिटी बसपार्कमा मात्रै यात्रु ओराल्न र चढाउनका लागि नगरपालिकासँग सहमति भएको बताए। ‘हामी त पहिले पनि यसकै पक्षमा हो, नगरपालिकाले शौचालय, खानेपानी र यात्रुलाई बस्ने व्यवस्था गरिदिए कार्यान्वयन गर्न सजिलो हुन्छ’ उनले भने ‘यसका लागि हामीले नगरपालिकासँग आफ्ना मागहरु राखेका छौं, छिट्टै ती मागहरु सम्बोधन हुने विश्वास छ।’

सडकमा जथाभावी सवारी साधन राख्नाले दुर्घटना समेत हुन गरेको थियो। टीकापुर नगरपालिकामा हालै मात्र करिब १५ करोडको लागतमा अत्याधुनिक बसपार्क निर्माण भइ सञ्चालनमा आएको छ। शहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भएको बसपार्क सुदूरपश्चिमको सबैभन्दा व्यवस्थित हो।

टीकापुरबाट दिनहुँ करिब दुई सयको संख्यामा बस सञ्चालनमा छन्। यहाँबाट १५÷१५ मिनेटको फरकमा धनगढीसम्म बससेवा सञ्चालनमा छ। यसका साथै नेपालगञ्ज, बुटवल, सुर्खेत लगायतका ठाउँमा समेत दिवासेवाका बस छुट्ने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला र काठमाडौंसम्मका लागि दिनहुँ दर्जन बढी रात्री बस समेत सञ्चालन हुँदै आएका छन्।

प्रकाशित: १ कार्तिक २०७९ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App