५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुई फरार कैदीबन्दी फेला परेनन्

उपचारका क्रममा असोज १५ गते बिहान फरार भएका २ जना कारागारका कैदीबन्दी अझै फेला परेका छैनन्। जबरजस्ती करणीमा कैद भुक्तान गर्दै गरेका र लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका २ जना फरार भएका हुन्।

विराटनगर–७ स्थित नेपाल क्षयरोज अस्पतालमा उपचारका लागि भर्ना भएका झापाको झापागाउँपालिका–५ राजाबस्तीका २८ वर्षीय राजकुमार हेमरन र झापा विर्तामोड–३ सैनिक मोडका २८ वर्षीय मञ्जिल गुरुङ फरार भएका हुन्। हेमरनलाई झापा जिल्ला अदालतले जबरजस्ती करणी कसुरमा १६ वर्ष कैद ठहर गरेको हुँदा झापा कारागारमा कैद भुक्तान गरिरहेका थिए।  

त्यस्तै, गुरुङ लागुऔषध मुद्दामा पक्राउ परी पर्पक्षका लागि झापा कारागारमा थुनामा रहेका थिए। दुवै जनालाई क्षयरोग लागेको पुष्टि भएपछि थप उपचारका लागि विराटनगरको क्षयरोग अस्पताल ल्याइएको मोरङ कारागारले जनाएको छ।

‘अस्पतालमा उपचारका क्रममा रहेका २ जना कैदीबन्दी फरार भएका छन्,’ मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले भने, ‘फरार भएकाहरुको प्रहरीले खोजी गरिरहेको छ। क्षयरोगको बिरामी पुष्टी भएपछि केन्द्रीय कारागारमार्फत झापा कारागारबाट स्थानान्तरण गरेर उपचारका लागि विराटनगर ल्याइएको थियो।’

उनीहरुमा ‘जीर्णो अवस्था’को क्षयरोग लागेको र अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएपछि स्थानान्तरण गरिएको हो। फरार भएका दुवै जनाले समयमै क्षयरोगको औषधि नखाए झन् अवस्था झटिल हुने निमित्त जेलर भगतले बताए। ‘कैदीबन्दी फरार भएपछि ड्युउटीमा रहेका २ जना प्रहरीमाथि अनुसन्धान थालेका छौं,’ निमित्त जेलर भगतले भने, ‘कैदी भागेका हुन् वा भगाइएको हो अनुसन्धान पूरा भएपछि घटना बाहिर आउने छ। त्यसपछि कसुर अनुसनरको मुद्दाको प्रक्रिया अघि बढ्छ।’  

कैदीबन्दी फरार भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले एससपी जयराज सापकोटाको नेतृत्वमा ५ सदस्य घटनाको छानबिन समिति गठन गरेको थियो। १० दिनभित्र समितिले छानबिन गरेर प्रतिवेदन बुझाउनु पर्ने गरी गठन भएको समितिले समयमै प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएको बताउँदै,’ १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवीनराज राईले भने, ‘फरार भएका दुवै जना कैदीबन्दीहरुको खोजी व्यापक रुपमा भइरहेको छ। आन्तरिक रुपमा गरिएको छनबिनमा हाम्रोतर्फबाट पनि केही कमजोरी भएको देखिएको छ।’

घटना कारागारसँग सम्बन्धित भएको हुँदा कारागार ऐनअन्तर्गत रहेर कारागार प्रशासनले अनुसन्धान गर्ने र कारबाही गर्नुपर्ने देखिए मुद्दालगायतका प्रक्रिया उनीहरुले थाल्ने एसपी राईले बताए।  

 

प्रकाशित: २९ आश्विन २०७९ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App