१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादशैंलाई बिदा गरेका छन्।

नेपालीले भव्य रूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादशैं पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम  शनिबार नै सकिएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ।

आश्विन शुक्ल प्रतिपदाकादेखि सुरु भएको दुर्गापक्ष अर्थात् दशैं पर्व आम नेपालीले आआफ्नो गच्छे अनुसार मनाउँछन्। आश्विन शुक्ल पूर्णिमाको  सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धनऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको नेपाल पञ्चांक निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन्।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गापक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिन्छ। कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। महालक्ष्मीसँगै आइतबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ।

कोजाग्रत पूर्णिमा र पूर्णिमा व्रत पनि आज रहेको समितिका अध्यक्ष प्रा.अधिकारीले जनाए। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो। कार्तिक स्नान र आकाशदीपदान भने आइतबारदेखि नै सुरु भएको छ। वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ। कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसी-भैलोलाई पनि दान दिने प्रचलन सुरु भएको हो। रासस

प्रकाशित: २४ आश्विन २०७९ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App