४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कैलालीमा बाढी: सयौं परिवार पुनः सडकमा

कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्र भएको थियो। दशैं नजिकिएपछि दशैं मनाउन घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ।

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन्। कृष्णजस्तै भजनी नगरपालिकाका सयौं परिवार सडकमा आएका छन्। मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढी ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ। असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए। विस्थापितहरू दशैं आएसँगै घर फर्किएका थिए। घर फर्किएर दशैंको टीकासमेत राम्ररी लगाउन पाएनन्।

‘दशैंको टीका समेत राम्ररी लगाउन पाएनौं, घरमा केही छैन। बाढीले सबै तहसनहस पारिसकेको थियो’, भजनीका रमा धामीले भनिन्, ‘छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौं। फेरि बाढीले डुबायो। शुक्रबार फेरि सडकमा आएका छौं।’ उनले बाढीका कारण आफूहरू बिचल्लीमा परेको गुनासो गरिन्।

‘बाढीले केही राखेन। न घरका सामान र अन्न राख्यो न खेतमा रहेको धानबाली रह्यो’, उनी भन्छिन्, ‘हामी के खाने? वस्तुभाउलाई के खुवाउने? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ।’

बुधबार रातिदेखि निरन्तर परेको पानीले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो। कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जनाइन्। १० मिटरमाथि जलसतह पुगेमा खतरा मानिन्छ। कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरी लगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जलसतह बढेको हो।

यसअघि असोज १ गते शनिबार दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो। पछिल्ला वर्षहरूमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ।

कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो। यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका-२, ७ र ८ का सयौं घरमा बाढी पसेको हो। भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरू कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएका बताए। उनले भजनीमा बाढीले तहसनहस गरेको बताए। असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन्। फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित भएपछि निकै दुःखी भएका छन्।

अविरल वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ। पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताए। ‘खुला खेतमा धान ढलिसकेको छ। पाकेको धान हावाले समेत ढल्न थालेको छ’, उनले भने, ‘वर्षा नरोकिए धान खेती रहन्न। मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ।’

किसानहरू वर्षा रोकिएको भए बाला काटेर भए पनि धान जोगाइन्थ्यो भन्न थालेका छन्। ‘खुला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिंदैन’, किसान परमभक्त देवकोटाले भने, ‘पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउनहुन्थ्यो। दुई/तीन दिन अझै वर्षा भएमा धान नोक्सान हुन्छ।’

मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारभन्दा शनिबार र आइतबार झन् बढी वर्षा हुनेछ। निरन्तर पानी परिरहेको र यहाँका नदीहरूमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ। यहाँका पालिकाहरूले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन्। यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन्।

प्रकाशित: २२ आश्विन २०७९ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App