२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ। जीवनको उत्तर्राद्धमा पुगेकाहरूका लागि उक्त आश्रम सहारा बनेको हो।

विसं २०५३ मा स्थापन भई विभिन्न आरोह-अवरोह पार गर्दै आएको गण्डकी प्रदेशको नमुनाको रूपमा रहेको उक्त वृद्धाश्रममा हाल ४६ आमाबुबालाई स्याहासुसार गर्ने दश सेवकसेविकासहित ५६ जना रहेको आश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए।

उनका अनुसार कुनै विशेष स्थान होस् वा अस्पतालमा उपचारका लागि आएका बेवारिसे अवस्थामा रहेका आमाबुबालाई प्रहरीको माध्यमबाट आश्रममा ल्याउनका साथै  कतिपय आफैंले जन्माएका सन्तानले पनि आश्रम ल्याउने गरेका छन्।

‘आफन्त कोही पनि नभई वृद्धावस्थामा अरूको घरमा गोठालो बसेर रगत पसिना बगाएका, विदेशबाट फर्किएका र घरमा अपहेलित समाजका ज्येष्ठ नागरिकको सेवामा आश्रम समर्पित छ’, उनले भने,‘आश्रम अहिलेसम्म सहयोगी दाताको सहयोगबाटै सञ्चालन हुँदै आएको छ।’

पछिल्लो समय सबै पुस्ताका व्यक्तिले जन्मदिन मनाउन, पित्रृ उद्धार, विवाह महोत्सवजस्ता सुखदुःखका विभिन्न संस्कारमा आश्रममा आश्रित आमाबुबाको आशीर्वाद लिने प्रचलन बढेका कारण पनि आश्रम सञ्चालनमा सहयोग पुगेको उनको भनाइ थियो।

आश्रममा उमेरले डाँडो काटेका आमाबुबालाई पालनपोषणभन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, ‘यस्ता मानवीय सेवामा समर्पित आश्रमको राज्यका तीनै तहका सरकार जिम्मेवारी हुनु अपरिहार्य छ।’

आश्रमका कोषाध्यक्ष रुद्रप्रसाद कोइरालाका अनुसार कुडहरस्थित इलाका वन कार्यालयले निर्माण गरेर बेवारिसे अवस्थामा रहेको एकतल्ले पक्की भवनबाट सुरु गरिएको आश्रम परिसरमा हाल सुविधा सम्पन्न सात वटा भवन छन्। आश्रमले साढे बाह्र  रोपनी जमिन ओगटेको छ। वृद्धाश्रमको निरन्तरताका लागि आश्रमले अक्षयकोष समेत स्थापना गरेको बताउँदै उनले भने, ‘कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिबाट रु. ५८ लाखभन्दा बढी संकलन भएको छ र रु. पाँच करोड पुर्‍याउने आश्रमको लक्ष्य छ। उक्त रकमको ब्याजबाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ अक्षयकोष स्थापना गरिएको हो।

वृद्धाश्रममा निःशुल्कका साथै सशुल्क सेवा दिने व्यवस्था गरिएको छ। जसमा प्रति सुविधायुक्त कोठाको रु.१० लाख एकमुस्ट लिएर  खान र उपचार लगायत सुविधाको व्यवस्था गरिएको छ भने हाल छोरा विदेशमा रहेका र आफन्त कोही पनि नभएका एकजना बुबालाई छोराको अनुरोधमा मासिक रु १५ हजार लिने गरी सुविधा प्रदान गरिएको कोषाध्यक्ष कोइरालाले बताए।

जन्मोत्सवमा वृद्धाश्रमलाई सहयोग

तारे होटलमा रमाउने एवं केक काट्ने जस्ता फजुल खर्च नभई मानवीय सेवा गरेर जन्मोत्सव मनाउन पर्दछ भन्ने यहाँको एउटा परिवारले सन्देश दिएको छ। पोखरा-१७ घारीपाटन निवासी रुकुमबहादुर जिसीकी श्रीमती देउकुमारी जिसी, बुहारी सोनी पौडेल र छोरी विनिता जिसीको असोजमा परेको जन्मदिनका अवसरमा उक्त वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेर धेरैका लागि उदाहरणीय बने।

आश्रममा आयोजित एक कार्यक्रममा उक्त परिवारले चामल, दाल, तेल, नुन, आलु प्याज लगायत रु. ४० हजार बराबरका खाद्यान्न सामग्री पोखरा वृद्धाश्रमका कोषाध्यक्ष रुद्रप्रसाद कोइरालालाई हस्तान्तरण गरेका थिए।

सोही अवसरमा उक्त परिवारका सदस्यले आश्रममा आश्रित ४६ आमाबुबा र दश सेवकसेविकालाई स्याउ, केरा र फ्रुटी समेत वितरण गरेका थिए। आफ्ना आमाबुबालाई घरमा सेवा दिन नसकेर वृद्धाश्रममा राख्न खोज्ने हाम्रो समाजमा विभिन्न स्थान र संस्कारबाट आएका ४६ बुबाआमालाई सेवा गर्नु चुनौतीपूर्ण भएको सेविका रेश्मी तिमिल्सिनाले बताइन्। कान राम्रो नसुन्ने र आँखा नदेख्ने आमाबुबा धेरै छन् , एकापसमा पनि मिल्नुको सट्टा झगडा गर्छन् र औषधि खुवाउनसमेत अप्ठेरो पर्दछ तैपनि सेवा गर्न पाउँदा खुसी लाग्नाका साथै आत्मसन्तुष्टि मिलेको छ। रासस

प्रकाशित: २२ आश्विन २०७९ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App