राउटे मुखिया वीरबहादुर शाहीको नौ जनाको परिवार छ। अघिल्ला दशैंमा एक दशैं नलाग्दै उनको छाप्रोमा तीन–चार वटा खशी बाँधिएका हुन्थे। यो वर्ष उनको छाप्रोमा गाउँलेसँग उधारोमा ल्याएका दुई वटा बाख्रा छन्। अझै उनले दशैंका लागि सेलरोटी बनाउने पिठो र छाक टार्ने चामल किन्न सकेका छैनन्। ‘भत्ता नआउँदा यो वर्षको दशैं उधारोमै टार्नुपर्ने बाध्यता आइलाग्यो,’ मुखिया वीरबहादुरले भने, ‘महिना–महिनामा भत्ता दिएको भए यो समस्या आउँदैनथ्यो।’
सरकारले राउटे समुदायलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। साउनयताको भत्ता आइदिएको भए वीरबहादुरको हातमा अहिले एक लाख आठ हजार रुपैयाँ हुन्थ्यो। त्यसैबाट दशैंका लागि चाहिने खशी–बाख्रा किन्थे। खाद्यान्नको जोहो गर्थे।
भत्ता नपाउँदा यो वर्षको दशैंको रौनक राउटे समुदायमा खासै छैन्। दुई साताअघि दैलेखको भगवतीमाइ गाउँपालिकाको बेस्तडामा सरेका राउटेका ४४ घर छन्। ति मध्ये ४० घरले गाउँलेबाट भत्ता आएपछि पैसा दिने शर्तमा बाख्रा उधारोमा ल्याएका छन्। दशैं मान्नका लागि हरिबहादुर शाहीले भत्ता आएपछि दिने गरेर गाउँबाट १४ हजारमा एउटा बाख्रो किनेर ल्याएका छन्। ‘खशी किन्दा महंगो हुन्छ, उधारो पनि दिँदैनन्,’ हरिबहादुरले भने, ‘बाख्रा सस्तो पनि हुने, उधारोमा पनि पाइने भएकाले १४ हजार तिर्ने गरेर दशैं मनाउन बाख्रो किनेर ल्याएँ।’
हरिबहादुरको घरमा पनि छाक टार्नका लागि खाद्यान्न छैन्। ‘भत्ता आउला र चामल किनौंला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘समयमै भत्ता नदिँदा छाक टार्न मुस्किल भइरहेको छ।’ राउटेले पनि अन्य समुदायलेजस्तै दशैं मनाउने गर्छ। ‘दशैंमा खशी–बाख्रा काट्ने, मान्यजनबाट जमरा र टिका लगाउने, नाचगान गरेर दशैं बनाउँछौं,’ अर्का मुखिया सूर्यनारायण शाहीले भने, ‘भत्ता नआउँदा यो वर्ष सोचेको जस्तो दशैं नहुने भयो।’
सूर्यनारायणका अनुसार दशैंमा प्रत्येक घरले अनिवार्य वलि दिनुपर्छ। तर, एकल महिला, गाउँ डुल्न नसक्ने बृद्धहरुको घरमा भने दशैंमा यो पटक वलि चढाउनका लागि खशी–बाख्रा छैनन्। गुपी शाही एकल महिला हुन्। भत्ता आइदिएको भए उनीसँगै १२ हजार रुपैयाँ गोजीमा हुन्थ्यो। सानो भएपनि खशी–बाख्रा ल्याउँथिन्। यो दशैंमा उनीसँग वलि दिनका लागि खशी–बाख्रा छैनन्। एकल महिला उनी काठका भाँडावर्तन बनाउन पनि जान्दिनन्। आम्दानीको स्रोत नभएकाले उनको छाक टार्ने माध्यम भनेकै भत्ता र दाताहरुले दिने खाद्यान्न हो।
राउटे समुदायले दशैंमा तीन जना मुखिया, धामी र पुजारीबाट जमरा र टिका थाप्ने र उनीहरुलाई आफ्नो छाप्रोमा निम्त्याएर मासु, भात र मदिरा खुवाउने गर्छन्। यो समुदायमा टिका लगाएर दक्षिण दिने प्रचलन भने छैन्।
गत असारमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटे समुदायलाई खाद्यान्न वितरण गरेको थियो। त्यसयता उनीहरुले बाहिरबाट खाद्यान्न सहयोग पाएका छैनन्। गाउँमा भएकाले बनाएका काठमा सामाग्रीहरु पनि विक्री गर्न नपाउँदा उनीहरु थप समस्यामा छन्।
प्रकाशित: १६ आश्विन २०७९ ११:३८ आइतबार