कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा चार जना, २०७७/७८ मा १५ जना, २०७८/७९ मा १६ जना गरी ३५ जनाले आत्महत्या गरेका छन्। यसमा झुन्डिएर तथा विष सेवन गरेर आत्महत्या गर्ने धेरै रहेको प्रहरीले जनाएको छ। २०७३ देखि ७६ सम्म ४१ जनाले आत्महत्या गरेका थिए।
घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेलाँ, मानसिक तनाव जस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ। पछिल्लो समय कालिकोटमा आत्महत्या गर्ने बालबालिकाको संख्या पनि बढ्दै गएको छ।
डिप्रेसन, मादक पदार्थ सेवनलगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको जिल्ला अस्पताल कालिकोटका डा. रत्नवीर सुनारले बताए। आत्महत्या एउटा औषधीविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन्। आफैंमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकको भनाइ छ।
‘आत्महत्या नियन्त्रणका लागि विशेष सचेतना अभियान चलाउनुपर्छ’, त्यसका लागि पालिकाहरूले समन्वय गरेर कार्यक्रम गनुपर्ने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।
परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषक बताउँछन्।
प्रकाशित: १६ आश्विन २०७९ ०२:०५ आइतबार