सो वन क्षेत्रमा लामो समयदेखि घाँस काट्दै आएका रत्ननगर नगरपालिका–१० जिरौनाका डिल्लीराम ढकाल तालको अवस्था देख्दा चिन्तित छन्। 'यसरी ताल कहिल्यै सुकेको थिएन । वर्षायाममा त पानी टन्नै हुन्थ्यो हिउँद र गर्मीमा पनि सधै डुंगा चलाएको देखेको हो । अहिले यसरी स्वाट्टै सुकेछ', सोमबार बिहान ताल नजिक भेटिएका डिल्लीरामले भने ।
'सफा गर्न र गहिरो बनाउन भनेर पहिला पानी फ्याक्यौं । खडेरी पनि लामो नै चल्यो त्यही भएर अहिले पुरै सुके झै भएको छ । पानी प¥यो भने फेरि भरिएला', रामवेल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर थापाले भने। तालमा जलकुम्भी र अन्य मिचाहा झार भरिएपछि सफा गर्नका लागि भनेर पानी बाहिर फालेको उनले बताए। ताल सुकाएर एक मिटर गहिरो बनाउने योजना पनि समितिको थियो ।
'तर काम पुरा भएन । गहिरो बनाउने काम सुरु नै भएन । पानी बाहिर गएकै थियो आकासबाट पनि आएन । त्यसैले ताल सुख्खा भएको हो । उ बेलामा पानी नफालेको भए अहिले खडेरी भए पनि केही न केही पानी त हुने थियो होला', अध्यक्ष थापाले भने। जंगलका विभिन्न क्षेत्रबाट खोल्सामा पानी बग्दै आएर तालको रुप लिएको थियो । वन समितिले अग्लो बाँध बानेर डुंगा नै चलाउन मिल्ने आकर्षक ताल बनाएको थियो ।
भरतपुर उपमाहनगरपालिकाको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गतको चार लाख २० हजार रुपैयाँ खर्च गरेर ताललाई आकर्षक बनाउने अभियान पनि सुरु भएको थियो। तर जैविक महत्वको जंगलभित्र रहेको पर्यटकीय दृष्टीले पनि आकर्षक ताल अब अस्तितव्मा आउने नआउने शंका बढेर गएको छ। बरण्डाभार जंगल चितवन निकुञ्जलाई चुरेर महाभारत पर्वतसँग जोड्ने महत्वपुर्ण जैविक मार्ग हो ।
तालको पछिल्लो अवस्था अवलोकन गरेका पशु विज्ञान विषयका प्रध्यापक डा.कृष्ण काफ्ले यस्तो महत्वको ताल हराउँदा वन्यजन्तुमा नराम्रो असर पर्ने बताउँछन् । दर्जनभन्दा धेरै गैंडा र केही बाघ तथा सयौं हरिण र असंख्य चराहरुले पानी खाने ताल थियो त्यो । पछिल्लो समय डुंगा चलाएर सिनेमा तथा म्युजिक भिडियो त्यो तालको आडमा खिचिएको थियो । भरतपुर नजिकै रहेको पूर्व पश्चिम राजमार्गको टिकौलीबाट लगभग तीन किलो मिटर उत्तरमा सो ताल छ ।
'पानी सुकेपछि जनावरहरु तिर्खाले छटपटिने छन् । सधै पानी खाने ठाउँमा अहिले थोरै पानी त छ । त्यो खाना थुप्रै जनावरहरु एकै ठाउँ आउँदा विभिन्न रोगका किटाणु जिवाणु फैलने र रोगको संक्रमण बढ्ने खतरा रहन्छ' रामपुर कृषि क्याम्पसमा पढाउने प्रध्यापक डा.काफ्लेले भने । कृषि तथा वन विश्व विद्यालयमा पढाउने अनन्त सुवेदीलेप्रसस्त चरा र माछा रहेको ताल क्षेत्र मासिनु दुखद भएको बताए ।
प्रकाशित: २७ वैशाख २०७३ २३:०७ सोमबार