१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

मिटरब्याजीविरुद्ध लागेको भन्दै नागरिककर्मीलाई निवर्तमान सांसदको धम्की

दोलखा प्रहरीको थुनामा रहेका मिटरब्याजीविरुद्ध समाचार लेखेको भन्दै एमालेकी निवर्तमान सांसद रेखा झा ले नागरिककर्मीलाई धम्क्याएकी छिन्।

दोलखा प्रहरीको थुनामा रहेका रौतहटका मिटरब्याजी तेजबिक्रम कार्कीविरुद्ध समाचार लेखेको भन्दै सोमबार बिहान टेलिफोनबाट उनले नागरिककर्मी रमेश खतिवडालाई धम्क्याएकी हुन्। खतिवडा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत हुन्। 'हेर्नुस तपाईं एक जना निर्दोष मान्छेविरुद्ध हात धोएर लागिरहनुभएको छ, उनले टेलिफोनमा भनिन्, 'यस्तै गर्दै जानु भयो भने जे पनि हुनसक्छ।'

उनले तेजबिक्रम दोलखा प्रहरीको कस्टडीमा रहेका बेला तेजबिक्रम र उनकी श्रीमतीलाई सहयोग गर्न आउँदा जिल्ला प्रहरी कार्यालय दोलखा परिसरमा आफ्नो फोटो खिचेर सार्वजनिक गरी आफ्नो चरित्र हत्या गरेको भन्दै मानहानी र साईबर क्राईममा मुद्दा हाल्ने चेतावनी समेत दिइन्।

जिल्लाको मेलुङ पुर्ख्यौली घर भएका रौतहटका तेजबिक्रम दुई सातादेखि दोलखा प्रहरीको थुनामा छन्। निर्माण व्यवसायी  प्रकाश कार्कीको जाहेरीमा तेजबिक्रम एमालेकी निवर्तमान सांसद रेखा झाको ललितपुर स्थित फ्ल्याट बाट पक्राउ परेका थिए।

तेजबिक्रमले दोलखाका प्रकाशलाई मिटरब्याजमा रकम लगानी गरेर पटक पटक अपहरण गरेको र बन्धक बनाएको पिडितले बताएका छन्। तेजबिक्रमले प्रकाशलाई १ करोड लगानी गरेर १२ करोड असुलेका थिए। पटक पटक रकम दिदै आएपनि रौतहटको आफ्नो साईटमा निर्माण सामग्री नियन्त्रणमा लिने, कब्जा गर्ने गरेको उनको आरोप छ।

जिल्ला प्रहरी स्रोतका अनुसार निवर्तमान सांसद झा र तेजबिक्रम व्यवसायीक पार्टनर रहेको देखिएको छ। 'झा र कार्कीको व्यवसायीक सम्बन्ध रहेको अनुसन्धानबाट देखिन्छ, उनीहरुका नाममा संयुक्त बैंक खाता समेत फेला पारेका छौं' जिल्ला प्रहरी स्रोतले भन्यो, 'हाललाई तेजबिक्रमलाई म्याद थप गरेर अनुसन्धानमा राखेका छौं, केही प्रमाणका आधारमा झालाई समेत बयानका लागि बोलाउदैछौं।'

तेजबिक्रम पक्राउ परेयता रेखा दोलखामा सक्रिय छिन्। उनी पक्राउ परे यता नागरिकन्युजले समाचार प्रकाशन गर्दै आएको छ। अदालतबाट लिईएको म्याद आइतबार सकिँदै थियो। उनी म्याद थप नगराउन र आइतबार नै अदालतमा मुद्दा बुझाउनका लागि दबाव सिर्जना गर्न दोलखा पुगेकी थिइन्। उनी दोलखामा दबाव बढाउन सक्रिय रहेको समाचार आइतबार बिहानैदेखि स्थानीय अनलाइनले प्रकाशन गरेका थिए।

जिल्लाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले तेजबिक्रमको ठगी मुद्दामा अनुसन्धान बाकी रहेकाले अदालतबाट ५ दिन म्याथ थप भएको सुनाए। दोलखा प्रहरीले मिटरब्याजमा संलग्न अन्यविरुद्ध समेत अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० आश्विन २०७९ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App