कालीकोटमा बालविवाहमा कमी आउन थालेको छ। विगतका वर्षहरूको तुलनामा बालविवाह रोकिएको पाइएको हो। गैरसरकारी संस्थाले गाउँमा केन्द्रित भएर बालविवाह, छिटो विवाह, जबर्जस्ती विवाह रोक्ने र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सचेतना जगाउने कार्यक्रम गर्न थालेपछि बालविवाह पहिलेको तुलनामा ६ प्रतिशत कम भएको हो। जिल्लाका विभिन्न स्थानीय तहमा गैरसरकारी संस्थाहरूले बालविवाह रोक्ने र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे अभियान थालेपछि किशोरकिशोरी जागरुक हुन थालेका छन्। समाजमा हुँदै आएका बालविवाह, छिटो विवाह र जबर्जस्ती विवाह न्यूनीकरण सहित अन्य कुरीति, कुसंस्कार न्यूनीकरण गर्न गाउँमा किशोरी समूह र धामीझाँक्री पनि सक्रिय भएका छन्।
मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका कोषाध्यक्ष दीलिपकुमार शाहीले स्थानीय सरकारसंगै सञ्चारमाध्यममा समेत कानुनले अवैध ठहर गरेका बालविवाह, जबरजस्ती विवाह र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे नागरिक सचेतीकरण गरेको खण्डमा नेपाल सरकारको दिगो विकास लक्ष्यभित्रको बालविवाह पूर्ण रूपमा अन्त्य हुने बताए। किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले कार्यक्रम लागु भएको दुई पालिकाको तथ्यांकलाई हेर्दा बालविवाह ३७ प्रतिशतमा झरेको बताए। यसअघि ४२ प्रतिशत रहेको र अझै तल पु¥याइने उनले बताए। अभिभावकले साथ दिँदा अझै सुधार हुने पाण्डेको भनाइ छ।
हुरेन्डेकमा कार्यरत बालविवाह न्यूनीकरण अभियन्ता डम्बर बोहोराले सुरुवाती हेर्दा अभियानले सार्थक्ता पाएको आफूलाई महसुस भएको बताए। सुरुमा सबै विवाहलाई यकिन गरेर बालविवाह शतप्रतिशतबाट विश्लेषण गर्दा निकै बढी देखिएको र अहिले घटेको उनको भनाइ छ। ‘अलिकति घटेको छ तर तथ्यांक संकलन नभएकाले यति प्रतिशत भन्न सकिरहेको छैन,’ उनले भने।
जिल्लाभरको अभियानले केही हदसम्म सकारात्मक प्रभाव पारेको देखिन्छ। ‘हुरेन्डेक नेपालमार्फत बालविवाह बढी हुने क्षेत्रका रूपमा चिनिएका नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिका तथा रास्कोट नगरपालिकामा हाल बालविवाह तथा परम्परागत हानिकारक अभ्यासविरुद्ध अभियानलाई तीव्रता दिन किशोरकिशोरीहरू सक्रिय रूपमा लागेका छन्,’ उनले भने, ‘हामी जसरी पनि बालविवाह रोक्नुपर्छ भनेर लागेका छौं।’ रास्कोट नगरपालिका–२ सिओसी कक्षाका सहभागी दर्पना लुवारले कतिपय बालविवाह आफूहरूले रोकेको बताइन्। ‘हाम्रै साथीको विवाहको कुरा चलिरहेको थाहा पाएपछि हामीले रोकेका छौं, अझै रोक्दै जान्छौं,’ उनले भनिन्। आफूहरूको अभियानमा वडा कार्यालय, प्रहरी र धामिझक्रिले पनि सहयोग गरिरहेको बताइन्।
समाजमै गुपचुप राख्ने प्रवृत्ति
नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ। त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानुनी मानेको छ। २० वर्ष नपुग्दै गाउँमा विवाह गर्ने समाजमै गुपचुप राख्ने प्रवृत्ति बढ्दै गाएको पाइन्छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ। यद्यपि दुर्गमका पहाडी गाउँसमाजमा बालविवाह रोकिन सकेको छैन।
बालविवाहका कारणहरू स्थान, परिवेश, धर्म, समुदाय, संस्कृति, परम्परा, शिक्षाको अभावलगायतका आधारमा फरकफरक छन्। परम्परागत निरन्तरतामा परिवर्तनलाई स्वीकार गर्न नचाहने सामाजिक मानसिकता, धार्मिक एवं सामाजिक मान्यता, परिवारको सोच, छोरीलाई दायित्व र भारका रूपमा लिने प्रवृत्ति, सानै उमेरमा विवाह गर्दा दाइजो कम दिए पुग्ने अवस्था बालविवाहका केही कारण हुन्।
त्यस्तै उमेर नपुग्दै हुने विवाहबाट हुन सक्ने हानि र थप समस्याबारेको अनभिज्ञता, बालविवाह कसुरजन्य कार्य भएको विषयमा जनचेतनाको कमीलगायत कारणले पनि बालविवाहले प्रश्रय पाइरेहेको छ। भइरहेको कानुन कार्यान्वयनमा भएको कमजोरीका कारण पनि बालविवाहलाई नियन्त्रण गर्न सकिएको छैन।
प्रकाशित: १० आश्विन २०७९ ०१:२७ सोमबार