९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

'एल निनो प्रभावले' कडा खडेरी

काठमाडौं-प्रशान्त महासागरको सतहमाथि तापक्रम वृद्धि हुँदा उत्पन्न हुने वातावरणीय समस्या 'एल निनो' प्रभावले नेपालमा यस वर्ष कडा खडेरी लम्बिएको छ ।

देशभरका ४ सयभन्दा बढी स्टेसनको तथ्यांक प्रभावका कारण यसपालि हिउँदभर औसतभन्दा अति कम वर्षा भयो भने प्रारम्भिक मौसम सुरु हुँदासमेत औसतभन्दा निकै कम मात्र वर्षा भएको छ ।

यो महिना देशको एक ठाउँमा मात्र सामान्य वर्षा भएको छ । अधिकांश क्षेत्रमा खडेरी देखिएको छ । तीन स्थानमा एक मिलिमिटर पनि वर्षा भएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी तारिखअनुसार अप्रिल सकिन लाग्दासम्म औसत हिउँदे वर्षा हुने सम्भावना देखिन्न । विभागका अनुसार 'एल निनो इफेक्ट' का असर मनसुनमा समेत पर्ने देखिन्छ । अघिल्ला वर्ष बढी पानी अप्रिल पहिलो साताभित्रै पर्ने गरेकोमा यसपटक २८ अप्रिलसम्म पोखरामाथिका पहाडी इलाकामा बाहेक औसतजति वर्षासमेत भएको छैन ।

मौसमविदका अनुसार एल निनो इफेक्ट प्रशान्त महाशाखाको सतहमाथिको तापक्रममा नोभेम्बर र डिसेम्बर महिना ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा सिर्जना हुने अवस्थालाई एल निनो इफेक्ट भनिन्छ । २ वा ७ वर्षमा आउने यस्तो समस्या नोभेम्बर र डिसेम्बर महिनामा सुरु भएर अप्रिलमा सकिन्छ । यो असरले सतहमाथिको भागलाई तताएर तलको चिसो पानीलाई माथि आउन दिँदैन जसको असर जलचरमा समेत पर्छ ।

विभागका मौसमविद प्रतिभा मानन्धरका अनुसार यो वर्ष अप्रिल सकिन लाग्दासम्म दाङ, दिपायल, सुर्खेतलगायत ठाउँमा सबैभन्दा कडा खडेरी परेको छ । ती ठाउँमा १ मिलिमिटर वर्षासमेत हुन सकेको छैन । अप्रिलमा सबैभन्दा बढी वर्षा ताप्लेजुङमा १ सय २० मिलिमिटर भएको छ । मौसमविदका अनुसार सामान्यतः हिउँदमा हुने वर्षा पश्चिमी वायुका कारण हुने भएकाले पश्चिममै बढी वर्षा हुने गर्छ । तर अप्रिलमा बढी वर्षा भएको ठाउँ पूर्व परेको छ । त्यो पनि औसतभन्दा निकै कम हो । यो महिना विराटनगरमा ४४ मिलिमिटर पानी परेको थियो ।

अप्रिलमा सबैभन्दा बढी वर्षा भएका अन्य ठाउँमा जोमसोममा जम्मा २६, पोखरामा २३ र लुम्लेमा २० मिलिमिटर मात्रै वर्षा भएको थियो । ती सबै रेकर्ड ती स्टेसनको औसत रेकर्डभन्दा कम हो । गत महिना (मार्च) मा भएका वर्षासमेत औसतभन्दा निकै कम थियो । गत मार्चमा सबैभन्दा बढी वर्षा हुनेमध्येको लुम्लेमा समेत ९२.८ प्रतिशत वर्षा भएको थियो । त्यो पनि औसतभन्दा निकै कम हो ।

विभागका अनुसार यस आधारमा हेर्दा विगत दुई वर्षमा औसत र केही ठाउँमा सोभन्दा माथि वर्षा भएको थियो । मौसमविद मानन्धरका अनुसार देशभरका सन् २०१४ को मार्चमा तराईमा औसत कम र हिमाली भेगतिर अधिकांश ठाउँमा औसतभन्दा बढी वर्षा भएको थियो । हिउँदमा पश्चिमबाट र हावा लाग्ने भएकाले हिउँदे वर्षा पश्चिमतिर बढी हुन्छ । यस आधारमा सन् २०१४ को मार्च नर्मल मानिएको थियो ।

२०१४ मा सबैभन्दा धेरै पश्चिम धनगढीतिरै वर्षा भएको थियो । त्यसैगरी २०१५ मा मार्चमा पश्चिमतिर औसत सुदूर र मध्यक्षेत्रमा औसतभन्दा बढी र पूर्व तराई औसत र पश्चिम र अरुमा सबैतिर राम्रो वर्षा भएको थियो ।

२०१६ को सुरुआत जनवरी–फ्रेबुअरीमा धनगढी, पोखरा र सिमरामा औसत वर्षा भएको थियो तर पूर्व ताप्लेजुङ र डिसेम्बर पूरै सुक्खा । जनवरीमा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो ।

यसपटक औसतसमेत छुन नसकेको डडेल्धुरामा २०१४ मार्चमा ५९.७ मिलिमिटर, लुम्लेमा कुल १०६.५ मिलिमिटर वर्षा भएको थियो । प्रतिशतका आधारमा धनगढीमा दुई वर्षअघि भएको वर्षा औसत ३९२ प्रतिशत थियो । त्यसैगरी सन् २०१५ मार्चमा बाजुरामा मार्च महिनाभरिमा २०८ मिलिमिटर वर्षा भएको थियो ।

महिनाभरिमा सबैभन्दा बढी जिरीमा १४४.६ वर्षा भएको थियो । यो प्रतिशतका हिसाबले १२५२ प्रतिशतभन्दा बढी थियो । अहिले प्रतिशतका हिसाबले जनकपुरमा ५१.६ मिलिमिटर वर्षा भएको छ । जुन उक्त ठाउँमा औसत हुने वर्षाभन्दा ४४७ प्रतिशत बढी हो ।

त्यसैगरी, अप्रिलमा पनि सन् ०१४ मा मध्यमाञ्चल र पश्चिम तराईतिर कम वर्षा भए पनि पश्चिम हिमालतिर बढी वर्षा भएको थियो । केहीबाहेक अधिकांश ठाउँमा औसतभन्दा बढी वर्षा भएको थियो । त्यसैगरी सन् २०१५ मा वर्षाको नियमितता एकै नभए पनि कडा खडेरी थिएन ।

गत वर्ष अप्रिलमा सुदूरपूर्व र मध्यपश्चिम उच्च क्षेत्रमा औसतभन्दा धेरै बढी र अन्य ठाउँमा पनि औसतभन्दा बढी वर्षा भएको थियो । गत अप्रिलमा रोल्पाको लिवाङमा १४४.८ मिलिमिटर पानी परेको थियो । यसपटक लिबाङमा समेत औसत वर्षा भएको छैन ।

मनसुन पनि उस्तै

जल तथा मौसम विज्ञान विभागका मौसमविद शिव नेपालका अनुसार नेपालका नेपालको पूर्व क्षेत्रमा मनसुनमा औसतभन्दा कम र पश्चिमलगायतका क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ । देशभरमा भने औसत वर्षा हुने नेपालले बताए । केही दिनअघि श्रीलंकामा भएको दक्षिण एसियाली राष्ट्रका मौसमविदको बैठकमा सहभागी भएर फर्किएका नेपालले दक्षिण एसियमै मनसुन औसत हुने निष्कर्ष बैठकले निकालेको बताए ।

'पश्चिम नेपालमा औसतभन्दा बढी र मध्य र सुदूरपश्चिम तराईका केही जिल्लामा औसतभन्दा बढी वर्षा हुने देखिन्छ,' उनले भने । सामान्यतया नेपालमा जेठको अन्तिम साताबाट मनसुन सुरु हुने गर्छ ।

प्रकाशित: १६ वैशाख २०७३ १९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App