२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतमा विद्युत निर्यात गर्ने उद्देश्य होइन,नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता: घिसिङ

फाइल तस्बिर।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन्।

मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे। उनले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे। विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ। 

उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताए। घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे। विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताए। उनले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिब १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा  कुल आयातमा २० गुणा कम हुने दाबी गरे। उनले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए। नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिब ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने उनले बताए। उनले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउन सक्ने बताए।

उनले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताए। चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको उनले बताए। घिसिङले निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताए।

प्रकाशित: ४ आश्विन २०७९ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App