६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

६ दशकमा कसरी बदलियो टीकाभैरव

म ललितपुरको टीकाभैरव कालीटारमा ६७ वर्षअघि जन्मिएको हुँ। काठमाडौं उपत्यकाको दक्षिण ललितपुरमा पर्ने यो ऐतिहासिक गाउँमा त्यस बेला मुस्किलले सात आठ घर थिए। पछिल्लो ६ दशकमा बिस्तारै घरहरूको सङ्ख्या बढ्दै गयो। अहिले त यो सङ्ख्या गनेर साध्य नै नहुने अवस्थामा पुगेको छ। मेरो घर परालले छाएको झुपडी थियो। जहाँ बुबा–आमाको काखमा कथा, भजन सुन्दै निदाउने गथ्र्यौैं। तर ती दिनहरू कथाजस्तै भएका छन्।

अहिले सलाइको डब्बाजस्तो कोठामा वातानुकुलित तापक्रमका बिस्तारामा त्यति मिठो निन्द्रा लाग्दैन।  

नजिकै रहेको खोलामा डोको बोकेर हामी खानेपानी ओसाथ्र्यौं। अहिले प्रचलनमा रहेको लुगा धुने साबुन त्यति बेला थिएन। हामी खाना पकाउने चुलोबाट निस्केको खरानीमा मोलेर लुगा धुने गथ्र्यांै। साबुनले होइन, सेतो माटोले नुहाउँथ्र्यौं।  

नल्लु खोला र लेले खोलाको दोभानमा भैरव मन्दिर र रामेश्वर मन्दिर थिए। अहिले यसलाई प्रभावती र त्रिवेणी धाम भनी नामकरण गरिएको छ।  

परापूर्वकालदेखि नै प्रत्येक चैत्र पूणिमाको दिनदेखि पर्सिपल्टसम्म यहाँ विशेष पूजाआराधनासहित मेला लाग्ने गर्दथ्यो। पहिला यो उत्सवमा त्यस्तो रमझम थिएन। तर, हिजोआज यो उत्सव धुमधामसँग मनाइन्छ, धेरै रमाइलो हुन्छ।  

त्यतिबेला चैत्र पूर्णिमाको अघिल्लो रात लेलेबाट जयकुमारी र बालकुमारीको रथ ल्याएर राखेसँगै सुरु हुने जात्रा पर्सिपल्ट रथ बोकेर भैरव मन्दिरअगाडि दुई कुमारीको रथलाई एकापसमा जुधाएर भैरव मन्दिरलाई घुमाउँदै लेले पुर्‍याएसँगै अन्त्य हुन्थ्यो। त्यो प्रचलन अहिले पनि कायम छ।

भैरव मन्दिरअगाडि ठुलो सल्लाको रुख थियो। अग्राखको बिम राखेर मन्दिरको अगाडि काठको पुल बनाइएको थियो। दुर्भाग्य, २०३८ असोज १३ गते ठुलो बाढी आएर पुल, कतिपय घरहरू, गाईवस्तु बगायो। पाकेको बालीसमेत बग्यो। टीकाभैरवका स्थानीय बासिन्दाले धेरै क्षति भोग्नुपर्‍यो। ठूलो मानवीय क्षतिसमेत भयो। नाताले बुहारी पर्ने मेरो एक आफन्तको समेत बाढीले ज्यान लियो। बाढीले मन्दिरभित्र रहेको तामाको घ्याम्पोसमेत बगाएको थियो। केही समयपछि मन्दिरको पुनःनिर्माण गरिएको थियो।  

मन्दिर वरिपरि रहेको रतिको चौर फाँटमा धानगहँु र अन्य खेती लगाइन्थ्यो, तर अहिले घरैघरले यो उर्वर भूमि भरिइसकेको छ। त्यतिबेला अहिलेका जस्तो बाटोघाटोको सुविधा थिएन। टीकाभैरवको नम्बर १ राजकुलो हुँदै चापागाउँ निस्किएर नाङ्गै खुट्टाले हिँडेर हामी लगनखेल पुग्थ्यौँ। ढोलाहिटी, नख्खिपोट, पाटनभरि हुइयाँ स्याल कराउँथ्यो। हामी खाली खुट्टा हिँडेरै जावलाखेलको चिडिया घर र पशुपतिनाथ मन्दिरसम्म जाने गथ्र्यौं।

राजधानी खाल्डोमा अहिलेको जस्तो धुवाँधुलो त्यतिबेला थिएन, वातावरण सफा हुन्थ्यो। टाढा टाढाका स्थानहरू पनि प्रष्ट देखिन्थे। आहा ! खोलाको पानी कति कञ्चन हुन्थ्यो। अब अहिले त्यो कहाँ रह्यो र? त्यतिबेला अधिकांश पराले घर थिए, ती ससाना थिए।  

हामीले पढ्ने स्कुल पनि छाप्रो थियो। हामी आफैले घाझाघुझी बेरेर, माटाले लिपपोत गरेर, खोलाको ढुङ्गा ल्याएर कुर्सीको ठाउँमा ढुङ्गा बिछ्याएर पढेका हौँ। एकसरो कपडा लगाएर नै स्कुल गइन्थ्यो। घासदाउरा गरेर मंगलबजारसम्म पुगिन्थ्यो। नयाँ कपडा लगाउने भन्ने थाहा नै भएन। हामीलाई पढाउने शिक्षकहरू पनि एकसरो कपडा र खाली खुट्टाले नै पढाउन आउनुहुन्थ्यो। गोदावरी नगरपालिका ६ नम्बर वडामा पर्ने दल्चोकीबाट दाउराको भारी बोकेर लगनखेल, मंगलबजार पुर्‍याएर बेचिन्थ्यो। वस्तु विनिमयका आधारमा एक भारी दाउराको दुइतीन माना चामल आउँथ्यो।  

वस्तुभाउको अधिक चरिचरणका कारण जंगलमा रुखविरुवा उम्रन नपाउदा डाडाँकाडा नाङ्गै हुनपुगेका थिए। झन् स्थानीयले बचेखुचेको जंगलबाट दाउरा काटेपछि जंगलको झन् ठुलो विनास भएको थियो। जंगल नाङ्गै हुँदा कमिला हिँडेकोसमेत देखिन्थ्यो। चराचुरुङ्गीको बासस्थान गुमेको थियो।  

तर पछि गाँउलेमा जागरण आयो। उनीहरूले नाङ्गा पहाडमा रुख बिरुवा रोपे। वन उपभोक्ता समिति बनाएर घाँसदाउरा गर्नलाई निश्चित दिन तोकियो। तोकिएको दिनमा मात्र घाँसदाउरा गर्न पाइने व्यवस्थाले जंगल फेरि फर्कियो। अहिले, मान्छेले नपत्याउलान्, त्यतिबेला मेरा हजुरबुबाको पालामा दल्चौकी डाँडाबाट बोलाएको टुडिखेलमा सुनिन्थ्यो। अहिले ओल्लो घरमा आपत्विपद् पर्दा पल्लो घरलाई पत्तो हुँदैन।  

त्यो बेलामा एक भारी दाउराको तीनमोहोर, पाँच सुक्का आउँथ्यो र त्यही पैसाबाट चामल पिठो किनेर घर ल्याउँथ्यांै। त्यसैले बनेको सिस्नो ढिँडो खाइन्थ्यो।

भोका पेटै हिँडेको त कुरै नगरौँ। कति हिँडियो, कति। अहिले गाँउमै रोजीछाडी जे पनि खान पाइन्छ। पहिला ढिकी, पानीघट्टमा गहुँ, मकै, कोदो, फापर पिनेको पिठो कति मिठो हुने गथ्र्याे। अहिले कल (मेसिन) मा पिनेको पिठो, स्वाद न बेस्वादको हुन्छ।  

अहिले खानामा सुख सुविधा छ तर स्वाद, बेस्वाद घट्दै गएको छ। त्यसको मौलिकता हराएको छ। खोलाका असला माछा कति स्वादिला हुन्थे। अहिले ती माछा कहाँ पुगे पुगे। पछि यहीँ नल्लु खोलामा रोडा, ढुङ्गा कुटेर दुई चार पैसाको अनुहार हामीले देख्न पाएका हांै। अहिले पन्ध्रबीसवटा क्रसर उद्योग छन्। क्रसरका कारण राजधानी खाल्डो तीन जिल्लालाई रोडा ढुङ्गा प्रशस्त मात्रामा प्रयोग गर्न पाएका छन्। यहाँका स्थानीय बासिन्दाहरूले क्रसरमा रोजगार पनि पाएका छन्। रोडा, ढुङ्गा प्रशस्त मात्रामा भएपछि ढुगा खानी खुले साथै बाटा पनि बने।

असारमा खेती गर्न र मंसिरमा दाइँ गर्न बडाबडा गोरुहरू पालिन्थे। कुनै खेतीयोग्य जमिन बाँझो थिएन। अहिले सबै खेतीयोग्य जमिन बाँझिएका छन्। मानिसहरूले बाँकी रहेको खेतमा काम गर्न छोडे। अन्न उब्जाउँदैनन्। भारतलगायत अन्य बाह्य मुलुकबाट जति पनि रासनपानी आइहाल्छ, त्यही खायो, बस्यो। कुन दिनबाट बाहिरबाट रासनपानी आउन छाड्छ, त्यसपछि भोकै बस्नुपर्छजस्तो लाग्छ।

पछिल्ला दशकमा भएको तीव्र परिवर्तनलाई देख्ने हामी नै अन्तिम पुस्ता हौं, जसले प्रकृति र मान्छेबीचको सुन्दर, सुमधुर सम्बन्धलाई देख्यौं। त्यसको मिठास भेट्यौं। त्यो हिसाबले हामी नै त्यो भाग्यमानी पिँढी हौं।

अचेल मानिसबाटै मानिसलाई खतरा हुँदै गएको छ। मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए, उति नै स्वार्थी, निर्दयी, आत्मकेन्द्रित, मतलबी, एकलकाटे पनि हुँदै गएका छन्। हामीले सिमली, दतिवन, अँगार, कदम, बाँसको डाँठ भाँचेर दाँत माझ्थ्यौं। डाबरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरूसमेत अनुभव गर्‍यौं।  

मेरा आमाबुबा बिरामी हुँदा मैले टीकाभैरवबाट बोकेर छाउनी अस्पताल पुर्‍याउने–ल्याउने गर्थें। अहिलेजस्तो कहाँ एम्बुलेन्स थियो र। बस पनि चल्ने थिएन। बस चढ्नलाई लगनखेलमा नै पुग्नुपथ्र्यो। चापागाउँमा धेरैपछि बस चल्न थालेको हो। बर्माबाट ल्याइएको भएकाले यसलाई बर्मालीको बस भनेर चिनिन्थ्यो। यो भैँसी बोक्ने ट्रक–गाडीजस्तो थियो। एक टिप मानिसहरू भरिन तीन घण्टा लाग्थ्यो। लामो पर्खाइपश्चात् हामी लगनखेल जान्थ्यौं।

चापागाउँबाट हिँडेर एक घण्टाको यात्रामा लगनखेल पुगिन्थ्यो भने बर्मालीको बस तीन घण्टा कुर्नुपथ्र्यो। त्यही पनि मानिसहरू बस कुर्थे। धेरै यात्री नभएपछि बस पनि रित्तै गुड्ने कुरो भएन। बसको सेवा सुरु भए पनि हामी भारी बोकेर हिँडेरै पाटन जाने आउने गरिन्थ्यो। हामीसँग गाडीभाडा तिर्नलाई पैसा हँुदैनथ्यो।  

त्यतिबेला ठाउँठाउँमा पोखरी बनाइएको हुन्थ्यो। भोको पेटमा पानी पिउन पाउँदा पानीको स्वाद कति मिठो हुन्थ्यो। पोखरी, खोलानाला जतासुकैको पानी पनि निर्मल हुन्थ्यो। गाउँ सुन्दर, सफा अनि हराभरा थियो। त्यतिबेला कोही हामी बिरामी हुँदा आमाले झारफुक गर्न कहाँ पुर्‍याउनुहुन्थ्यो। पैतालाको र खरानीको टीका लगाएको र जल खुवाएको अनि पूजाआजा गराएको हिजो जस्तो लान्छ। नेपाली सेनामा जागिरे भएकाले म हिँडेर सिंहदरबार कार्यालयसम्म पुग्थें। यो अवधिमा राजतन्त्र, पञ्चायती शासन हुँदै लोकतन्त्र, जनयुद्ध पनि मैले देखें।  

संविधानसभापछि गणतान्त्रिक व्यवस्था पनि भोग्न पाइएकै छ। यति धेरै परिवर्तन कमैले देख्न र भोग्न पाउलान्। त्यो हिसाबले हाम्रो पुस्ता भाग्यमानी हो।  

(शिवराम खड्का नेपाली सेनाका पूर्व मानार्थ उपसेनानी हुन्। प्रस्तुत आलेख खड्कासँग नागरिककर्मी सविता खड्काले गरेको कुराकानीमा आधारित रहेर तयार पारिएको हो।)

प्रकाशित: १ आश्विन २०७९ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App