आउँदै गरेका नयाँ ३० सहरी बसका लागि १० करोड रुपैयाँ लगानी गरेपछि महानगरले सरकारको भन्दा ५८.९४ प्रतिशत बढी सेयर पाउने भएको हो । साझा यातायात सहकारी संस्था लिमिटेडबाट सञ्चालित साझामा हाल सरकारका ६३ निकायको ७२.५९ प्रतिशत सेयर रहेकामा अब ९.६४ प्रतिशतमा सीमित हुनेछ । जसअनुसार सरकारको १ करोड २ लाख रुपैयाँ सेयर साझामा रहेको छ । यसपछि व्यक्तिगत १ सय ५६ जनाको २.८२ प्रतिशत, विभिन्न आठ संस्थाको ०.९६ प्रतिशत रकम बराबरको सेयर कायम हुनेछ ।
सेयर सदस्यताको हिसाबले भने व्यक्तिगत सेयर ६८.४४ प्रतिशत रहनेछ । नेपाल सरकार २८ प्रतिशत, संस्थाहरु ३.१२ प्रतिशत र महानगरको ०.४४ प्रतिशत हुनेछ । महानगरको रकम बराबर साझाले अब उक्त प्रतिशतको सेयरको प्रमाणपत्र वितरण गर्ने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
'महानगरले १० करोड रुपैयाँ रकम हामीलाई दिइसकेको छ,' उनले भने, 'साझाले निर्णय गरेर अब महानगरलाई उक्त लगानी रकम बराबर सेयर दिनेछ ।'
उनका अनुसार आइतबार महानगरले ८ करोड रुपैयाँ दिएको छ भने पुस १ गते २ करोड रुपैयाँ दिइसकेको थियो । उक्त रकमबाट साझाले ३० वटा सहरी बस ल्याएर काठमाडौंमा गुडाउनेछ ।
पाण्डेयका अनुसार एक हप्ताभित्र प्रतीतपत्र (एलसी) खोल्ने तयारी पनि भैरहेको छ । एलसी खोलेको १ सय २० दिनभित्र बस काठमाडौं आउने उनले जानकारी दिए । बसहरू अपाङ्गतामैत्री र ४० सिटे ल्याउने योजना साझाको छ । ३० वटा बस ल्याउन साझा र भारतको अशोक लेल्यान्ड कम्पनीसँग चैत ११ गते सम्झौता भैसकेको छ ।
'महानगरको लगानीले साझालाई आफ्नो सेवा विस्तार गर्ने मौका मिलेको छ,' उनले भने, 'यसले अन्य निकायलाई पनि साझामा लगानी गर्ने बाटो खोलेको छ । यसका लागि हामी महानगरलाई धन्यवाद दिन्छौं ।'
नयाँ बसमा यात्रुहरु उभिन र ओहोरदोहोर गर्न सजिलो हुनेछ । यसबाहेक अघिल्ला १६ वटा बसहरूमा रहेका चालकबाट सञ्चालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजन स्क्रिनजस्ता सबै सेवा हुनेछन् । एक पटकमा करिब एक सय यात्रुलाई ओसार्ने गरी सहरी बस ल्याउन लागेको साझाले जनाएको छ ।
लगानीले राजधानीबासीलाई स्तरीय यातायातको अनुभव दिलाउन लगानी गरेको महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । 'महानगरले आफैँ बस किनेर चलाउन सक्दैन । त्यसैले साझामार्फत् जाँदा लगानीको पनि सुनिश्चितता हुने भएकाले यो बाटो रोजेका हौं,' उनले भने, 'सरकारको भन्दा बढी सेयर हिस्सा लिएर हामीले अब महानगरबासीको सेवामा प्रत्यक्ष रुपमा लागेका हौं ।'
यस्तो लगानीले सहरी यातायात व्यवस्थापनमा महानगरको दीर्घकालीन लगानी सुनिश्चित हुने पनि उनले बताए ।
सहरी यातायातलाई सेवामुखी बनाउन गएको साउनमा महानगरले साझालाई १० करोड रुपैयाँ दिने सम्झौता भएको थियो । साझा र महानगरले १९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यात्रुुलाई सार्वजनिक यातायातमा सुविधा दिने, सहरी अर्थतन्त्रलाई बढवा दिने र सार्वजनिक यातायातलाई विश्वसनीय बनाउने गरी सम्झौता गरेका थिए । साझाले ५ करोड ५४ लाख रुपैयाँ लगानी गर्दै २०७० वैशाख १ गतेदेखि उपत्यकामा १६ वटा बस सञ्चालन गरिरहेको छ ।
प्रकाशित: ३० चैत्र २०७२ २०:४१ मंगलबार