७ वैशाख २०८१ शुक्रबार
समाज

मधेसमा मौलाउँदै गाँजा तस्करी

गाँजाले भरिएका बोरा राखेर भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको एम्बुलेन्स। तस्बिर: नागरिक

बारा प्रहरीले केही दिनअघि गाँजा बोकेको ट्रकसहित दुईजनालाई पक्राउ गर्‍यो। हेटाैंडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।

यसअघि भदौ ५ गते हावा भरिएको ट्युबमा काठ बाँधेर त्यसमा प्लास्टिकका नौवटा बोरामा २४० किलो गाँजा राखी कोसी नदी हुँदै भारततर्फ लैजाने तयारी हुँदै थियो। त्यति नै बेला त्यहाँ पुगेको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गर्‍यो।

यसैगरी भदौ ४ गते प्रहरीले वीरगन्ज महानगरपालिका २१ बाट डब्लुबी ११ ई ९०३३ नम्बरको तेल ट्यांकरबाट ४६ वटा पोकामा रहेको १७२ किलो तयारी गाँजा बरामद गर्‍यो। भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजासहित ट्यांकरचालक भारत उत्तर प्रदेशको गाजीपुर जिल्लाका ३९ वर्षीय लालबिहारी यादव पक्राउ परे।

साउन ३१ गते पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका १ स्थित जिल्ला ट्राफिक कार्यालयअगाडि बिरामी बोक्ने एम्बुलेन्सको सिटबाट गाँजाका बोरा बरामद भयो। को१च ७५७७ नम्बरको बिरामी बोक्ने एम्बुलेन्सको सिटमा राखिएको पाँचवटा बोरामा ल्याइएको ९० किलो तयारी गाँजासहित चालक धनगढीमाई नगरपालिका ९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले पक्राउ गर्‍यो। लहान हुँदै गाँजा लिएर भारत जाँदै गरेको एम्बुलेन्स नियमित चेकजाँच गर्दा उनी पक्राउ परेका थिए।

त्यस्तै साउन १ गते रौतहटको राजपुर नगरपालिका ६ कुटियामा पार्किङ गरी राखिएको डिएल–४ सिएनबी नम्बरको स्कोर्पियो जिपबाट सशस्त्र प्रहरीले १९२ किलो गाँजा बरामद गर्‍यो। सप्तरीको हुनुमाननगर नाकाबाट गाँजा डुंगामा भारत तस्करी भइरहेको पाइएको छ। पहाडी जिल्लाबाट ल्याइएका बोराका बोरा गाँजा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिकाको कोसी क्षेत्रबाट डुंगामा राखेर कोसी नदी हुँदै भारततिर तस्करी हुँदै आएको छ। कहिलेकाहीं सशस्त्र प्रहरी बलले गाँजा बरामद गरे पनि कारोबारी भने पक्राउ परेको पाइँदैन।  

पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी हुँदै भारततर्फ तस्करी हुन्छ। कोसी ब्यारेजबाट डुंगामा राखेर पनि भारततर्फ गाँजा तस्करी हुने गरेको छ। सप्तरीबाट गाँजा तस्करीका लागि डुंगा र ट्युब साधन बनेका छन्। त्यहाँबाट तस्करी हुने गाँजाको मुख्य स्रोत उदयपुर रहेको जानकारहरू बताउँछन्। ‘सप्तरीमा हुने छिटफुट गाँजा उत्पादनले तस्करीको यो व्यापक सञ्जालको माग धान्दैन’, उनीहरू भन्छन्, ‘पहाडी जिल्लाबाट गाँजा ल्याएर कोसीको बाटो हुँदै भारत पुर्‍याउने गरिएको छ।’ उनीहरूका अनुसार सिरहादेखि पर्सासम्मका नाकाबाट तस्करी हुने गाँजाको स्रोत पहाडी जिल्ला मकवानपुर र धादिङ रहेको जानकारहरू बताउँछन्। यी जिल्लाबाट एम्बुलेन्स, ट्यांकरमार्फत गाँजा भारत पुर्‍याउने गरिएको पाइएको छ।

विगतमा जिल्लाका ग्रामीण नाकाबाट भारततर्फ तस्करी हुने गाँजा अहिले वीरगन्ज नाका हुँदै जाने गरेको पाइएको छ। असार २३ मा भारत बिहारको पटना र रक्सौल कस्टमको संयुक्त टोलीले वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको ना७ख ३००५ नम्बरको नेपाली नम्बरको ट्रकबाट ५२७ केजी गाँजा बरामद गरेको थियो।

स्रोतका अनुसार नेपालमा दुईदेखि ४ हजार रूपैयाँ प्रतिकेजी पर्ने गाँजा भारतमा २० देखि २५ हजार रूपैयाँसम्म बिक्री हुने गरेको छ। कम लगानी र कम समयमा अत्यधिक आम्दानी हुने भएकाले गाँजा कारोबारमा तस्कर सञ्जाल व्यापक हुँदै गएको छ। एक प्रहरी अधिकारी भन्छन्, ‘कारोबारीहरू भारतर्फ नै बस्ने भएकाले भरिया मात्र पक्राउ पर्ने गरेका छन्।’ प्रहरीका अनुसार सवारीचालक र भरियासँग ‘आर्थिक डिल’ भइसकेकाले अधिकांशले कारोबारीबारे मुख खोल्दैनन्। वीरगन्ज नाकाबाट तस्करी हुने गाँजा मकवानपुर र धादिङबाट ल्याउने गरिएको प्रहरी स्रोतको भनाइ छ। यहाँको मुख्य र ग्रामीण नाकाबाट समेत भारततर्फ गाँजा तस्करी हुने गरेको छ। पर्साको सोनवर्षा, मधुवन मथवल हुँदै भरियामार्फत गाँजा भारत पुर्‍याउने गरिएको जानकारहरूको भनाइ छ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहाका सीमावर्ती नाकाबाट भारत भित्र्याइने गाँजा पहाडी जिल्लाबाट ल्याएर सुरक्षित स्थानमा भण्डारण गरिन्छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २८ सय ४ किलो १९ हजार ३ सय ३५ ग्राम ८ सय १० मिलिग्राम गाँजा बरामद भएको छ। 

प्रकाशित: ३० भाद्र २०७९ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App