२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भिआइपी सवारीले सास्ती

फाइल तस्बिर

मंगलबार बिहानै राजधानी काठमाडौंका मुख्य सडकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो। बिहान ८ बजेबाटै ट्राफिक प्रहरीले भक्तपुर र ललितपुरबाट काठमाडौं छिर्ने र काठमाडौंभित्रै आवतजावत गर्ने सवारी साधन अवरोध गर्न थाले।

यसरी प्रहरी नै लागेर सवारी अवरोध गर्न लागेपछि यात्राका लागि घरबाट निस्किएका सर्वसाधारणले छोटो दूरीको यात्रामा पनि घन्टौं सास्ती बेहोर्नुप¥यो। कतिपय ठाउँमा बिरामी बोकेका एम्बुलेन्स, शववाहन पनि घन्टौं सवारी जाममा परेको तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन्।

मूल सडकमै अवरोध गरिएपछि शाखा सडकहरूमा पनि उत्तिकै जाम भएको थियो। जहाँ पनि प्रहरी खटिएर व्यवस्थापन कार्यमा जुटेको देखिए पनि अत्यधिक सवारी चापका कारण उनीहरूलाई हम्मेहम्मे परिरहेको देखिन्थ्यो। यसरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिनुपूर्व मंगलबार बिहानै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको ‘सवारी आवागमन प्रभावित हुने’ सूचना जारी गरिसकेको थियो।

कार्यालयले ‘विशेष कारणवश’ भनेर जारी गरेको सूचनामा बिहान पौने ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, माइतीघर, नयाँबानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा र साढे ११ बजेको आसपासमा तीनकुने, नयाँबानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उल्लेख थियो।

यस्तै दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपन्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली,पद्मोदय मोडआसपासका क्षेत्रमा र दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदय मोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने सूचनामा उल्लेख थियो।

‘विशेष कारणवश’ भनिए पनि ट्राफिक जामको मुख्य कारण चिनियाँ पाहुनाको भ्रमण थियो। चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु ६७ सदस्यीय प्रतिनिधिमण्डलसहित तीन दिवसीय भ्रमणका लागि मंगलबारबाट काठमाडौंमा छन्। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको विशेष निम्तोमा उनी नेपाल आएका हुन्।

लीको भ्रमण कार्यतालिकाअनुसार मंगलबार बिहान संघीय संसद् भवन नयाँबानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम थियो। यस्तै दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको कार्यक्रम थियो।

यही कार्यतालिकाअनुसार लीको यात्राका लागि बास बसेको होटल सोल्टीबाट बिहान संसद् भवन, त्यहाँबाट साढे ११ बजे सोल्टी होटल, दिउँसो साढे ३ बजे प्रधानमन्त्रीसँगको भेटका लागि सिंहदरबार र त्यहाँबाट दिउँसो साढे ४ बजे सोल्टी फर्किंदा दिनभर चारपटक सडक खाली गरिएको थियो। यही कारण राजधानीका सडक अस्तव्यस्त बन्न पुगेको हो।

भिआइपीको ‘औपचारिक’ भ्रमणमा सुरक्षा सतर्कतालाई ध्यान दिँदै ट्राफिक प्रहरीले यात्रारत् क्षेत्रको सडक खाली गराउने परम्परा छ। यसमा विदेशी पाहुना र राष्ट्रपतिका लागि यो सुविधा उपलब्ध गरिएको हुन्छ।

‘राज्यले नै विदेशी भिआइपी पाहुना र राष्ट्रपति भ्रमणका बेला सडक खाली गराउने प्रावधान तय गरेको छ’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट भन्छन्, ‘यो सम्बन्धित भिआइपीको सुरक्षा र सम्मानसँग जोडिने पक्ष पनि हो।’

यही प्रोटोकलअनुसार चिनियाँ पाहुनाका लागि एक दिन चारपटक सडक खाली गराउँदा समस्या उत्पन्न भएको उनले बताए। यही क्रममा ‘डाइभर्सन’ मिलाउँदा पनि समस्या सुल्झाउन निकै समस्या भोग्नुपरेको ट्राफिक प्रहरीको अनुभव छ।

‘एकपटक सडक चेन खाली गरेर मिलाउँदा–मिलाउँदै अर्कोपटक खाली गर्नुपर्ने समय आउने भयो। यसले निकै कठिनाइ भयो’, एसएसपी भट्टले भने। यस्तै समस्या बुधबार पनि काठमाडौंबासीले भोग्नुपर्ने उनले बताए। उनले भने, ‘भोलि (बुधबार पनि बिहान ९ बजेबाट भक्तपुर भ्रमण छ। त्यसपछि राष्ट्रपतिसँग शिष्टाचार भेटको कार्यक्रम छ। यसैले यात्रुले समयमै ध्यान दिएर यात्रा गर्नुपर्ने अवस्था छ।’

राजधानीमा सवारी चापअनुसारको सडक पूर्वाधार नहुँदा भिआइपी आउँदा यस्तो समस्या हुने एसएसपी भट्टको भनाइ छ। ‘हामीकहाँ सडक पूर्वाधारको निकै समस्या छ, तर हामीले भिआइपीको सुरक्षा र सम्मानको ख्याल राखेर पनि काम गर्नैपर्छ’, उनले भने।

महानगरीय ट्राफिक महाशाखाको नेतृत्व गरेका पूर्वप्रहरी नायब उपरीक्षक (डिआइजी) केशव अधिकारी यसपटकको सवारी जाम सबैभन्दा ठूलो रहेको बताउँछन्। ‘मैले सुनेअनुसार यो दशककै सबैभन्दा ठूलो जाम हो’, उनले भने, ‘समयमै सूचना जारी नभएकाले यात्रुले सास्ती भोग्नुपरेको हो कि भन्ने लाग्छ।’ यस्ता परिस्थितिमा एक घन्टा, दुई घन्टा वा चार घन्टाअघि होइन; दुईतीन दिनअघि नै सूचना जारी गर्नुपर्ने उनी बताउँछन्। ‘समयमै सूचना हुने हो भने काम नहुने यात्रु बाहिर निस्कँदैन। निस्किनै परे वैकल्पिक बाटो प्रयोग गर्छ’, उनले भने।

सडक पूर्वाधारको कमी नै समस्याको मूल कारण रहेको अधिकारीको बुझाइ छ। उनी भन्छन्, ‘सरकारले हरेक वर्ष २५ प्रतिशत राजस्वको स्रोत सवारी आयातलाई लिन्छ, तर त्यसलाई चाहिने सडकमा लगानी गर्दैन। मूल समस्या नै यही हो।’ राजधानीका सडकमा अहिले दिनहुँ २२ लाखसम्म सवारी साधन गुड्ने र ती साधनका लागि पर्याप्त सडक नरहेको उनले बताए।

यस्ता समस्या व्यवस्थापनमा ट्राफिक प्रहरीले पनि बैकल्पिक अभ्यास थाल्नुपर्ने पूर्वडिआइजी अधिकारी बताउँछन्। त्यसका लागि सम्बन्धित भिआइपीमाथिको सुरक्षा थ्रेट विश्लेषण गरेर पर्याप्त सुरक्षा सतर्कताका साथ ‘एन्टि डिरेक्सन’ मार्फत यात्रा गराउने, एयर लिफ्टिङ गर्ने र जोर–बिजोर प्रणाली कायम गरेर पनि व्यवस्थापन गर्न सकिने उनको सुझाव छ।

सरकारले यस्ता समस्याको दिगो समाधानका लागि सडक पूर्वाधार विकास र वैकल्पिक सडकहरूको व्यवस्थामै ध्यान दिनुपर्ने पनि उनको सुझाव छ। ‘मास ट्रान्सपोर्टेसनको योजना बनेको लामै समय भयो, तर कोही कार्यान्वयन गर्दैन। कार्यान्वयन नगरे यो समस्या अझै लामो समय चलिरहन्छ’, उनले भने।

प्रकाशित: २९ भाद्र २०७९ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App