८ वैशाख २०८१ शनिबार
समाज

मुस्ताङको गुनासो: ‘पर्यटन सस्तो भयो’

अपर मुस्ताङका सम्पदा। तस्बिर/नागरिक

हिमालपारिको जिल्ला मुस्ताङमा प्रयाप्त विदेशी पर्यटक जान्छन्। कोरोना भाइरस संक्रमणअघि मुस्ताङ पुग्ने विदेशी हजारौंको संख्यामा हुन्थे।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्ण फेरोको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै हुन्थे। त्यसबाहेक मुस्ताङको माथिल्लो क्षेत्रमा अतिरिक्त शुल्क तिरेर जाने विदेशीको संख्या पनि धेरै नै हुन्थ्यो।  

तर, पछिल्लो समय मुस्ताङले पर्यटकलाई टिकाउन सकेको छैन। मुस्ताङ उक्लेका पर्यटकको बसाइ अवधि निकै नै कम हुने गरेको छ। अझ मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकको बसाइ त झनै कम हुने गरेको छ। माथिल्लो क्षेत्रमा पुगेकाबाहेक धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा बढीमा एकरात मात्र हुने गरेको त्यहाँका स्थानीयको भनाइ छ।  

पोखराबाट जसोतसो पर्यटक गए पनि उनीहरूको बसाइ अवधि निकै नै कम हुने गरेको उनीहरूको भनाइ छ। त्यसो हुनुमा पोखरेली व्यवसायी र सडक यातायात मुख्य कारक रहेको उनीहरूले बताए। कोरोना संक्रमण सुरु भएपछि पर्यटन क्षेत्र केही सुनसान बनेको भए पनि जसोतसो उक्लेका पर्यटकको बसाइ अवधि पनि न्यून हुनुमा पोखरेली व्यवसायीको कमजोर प्याकेज मुख्य कारक रहेको उनीहरूले बताए।

पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको उनीहरूले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको छलफलमा घरपझोङ गाउँपालिकाका अध्यनसिंह लालचनले भने, ‘पोखराका पर्यटन व्यवसायीले नै एकरातको प्याकेज बनाएपछि पर्यटक नै मुस्ताङमा अडिएनन। एकरातका लागि मात्र पुगेका पर्यटकबाट लाभ पाउन सकिन्न।’ मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय पर्यटकबाट त झनै लाभ पाउन नसकिएको उनले बताए।  

‘पोखराबाट एकैदिनमा जोमसोम पुगिन्छ। भोलिपल्ट बिहान मुक्तिनाथ दर्शन गरेर बास बस्न पोखरा फर्किन्छन्। त्यो तरिकाले पर्यटनबाट लाभ मिल्दैन,’ उनले भने, ‘एकरात बास बसेका पर्यटकबाट के लाभ पाउने भन्ने हो। अधिकांश भारतीय पर्यटक धार्मिक हुने र उनीहरूको जोमसोम बसाइ बढीमा एकरात मात्र हुन्छ।’  

भारतीयबाहेक अन्य पर्यटकको बसाइ अवधि पनि निकै नै घटेको उनले बताए। गाडीमा गएका पर्यटकलाई पर्याप्त घुम्ने गरी प्याकेज नबनाउने हो भने उनीहरूको बसाइ अवधि कम हुने लालचनले बताए। ‘एकदिनमा घुमेर सकिन्छ भनेर छोटो र सस्तो प्याकेज नबनाइदिनुस्। पोखराले पर्यटकको बसाइ अवधि बढाउन उपयुक्त भूमिका निभाउनुपर्छ,’ उनले भने, ‘नयाँ ठाउँ र गन्तव्यलाई पनि प्याकेजमा जोडिदिनुस्। एकदिनमा घुमेर सकिने गरी प्याकेज बनाउँदा पर्यटकको बसाइ अवधि कम भएको छ।’

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले पर्यटक रातारात फर्किने गरेको बताए। त्यस्ता पर्यटनबाट पोखराले लाभ नपाएको र मुस्ताङले पनि पाउन नसकेको उनको भनाइ छ। ‘पर्यटक रातारात फर्किन्छन्। कतिपयले एकरात पनि बिताउँदैनन्।

त्यस्तो पर्यटनबाट लाभ पाउन सकिन्न,’ गौचनले भने, ‘एकदिनमा मुस्ताङ घुमेर फर्किन सकिन्छ भनेर सस्तो प्याकेज बनाउँदा लाभ नभई नोक्सान मात्र भएको छ। रातारात आउजाउ गर्ने पर्यटकबाट लाभ पाउन सकिन्न।’ मुस्ताङमा पर्याप्त मात्रामा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा भए पनि ती सम्पदासम्म पाहुना पु¥याउन नसकिएको उनले बताए। कुनै बेलाको पदमार्गमा अहिले मोटर गुड्दा पनि पर्यटन क्षेत्रले मार खेपेको उनको भनाइ छ।

वारागुँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले मुस्ताङको पर्यटन क्षेत्र यतिसम्म खस्कियो कि खानाको पैसा तिरेको आधारमा होटलमा कोठा सित्तैमा माग्न थालेको बताउँछन्। ‘कतिपय मुलुकका पर्यटक होटलमा खानाको पैसा तिर्ने तर, कोठा सित्तैमा देउ भन्छन्।

त्यो अवस्थाले पर्यटन प्रवद्र्धन हुन सक्दैन,’ उनले भने, ‘ती सस्ता र सित्तैमा खोज्ने पर्यटकबाट मुस्ताङले लाभ लिन सक्दैन। यसलाई गुणस्तरीय पर्यटन भन्न सकिन्न।’ कतिपय पर्यटक सित्तैमा कोठा खोज्ने र केही फोहोर गर्न मात्र उक्लिने अवस्था रहेको उनले बताए। ‘बरु आन्तरिक पर्यटनबाट लाभ पाउन सकिन्छ। विदेशी भन्दैमा सित्तैमा खोज्ने पर्यटनले लाभ दिँदैन,’ उनले भने, ‘कम्तिमा आन्तरिक पर्यटकले कोठा र खानाको शुल्कमा ‘बार्गेनिङ’ त गर्दैनन्।’

उपल्लो मुस्ताङ क्षेत्र घुम्नका लागि विदेशी पाहुनाले एकसाताका लागि ५ सय अमेरिकी डलर अतिरिक्त शुल्क तिर्नुपर्छ। अर्धनिषेधित क्षेत्र मानिने माथिल्लो क्षेत्रमा विदेशी पर्यटकले यो अतिरिक्त शुल्क तिर्नुपर्छ।

कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको उनीहरूको गुनासो छ।  

मुस्ताङका स्थानीय तहका पदाधिकारी र पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वास्तवमा मुस्ताङ सबै हिसाबले पछाडि परेको बताए। केही दिनअघि मात्र मुस्ताङ उक्लेर फर्केका मुख्यमन्त्री पोखरेलले माथिल्लो क्षेत्र घुमेपछि मात्र वास्तविक मुस्ताङ देख्न पाएको बताए।

‘मुक्तिनाथ घुमेर फर्किंदैमा मुस्ताङ घुमेको बुझाउने गरेको थियो। तर, त्यो रहेनछ। जब माथिल्लो क्षेत्र घुम्न पुगिन्छ, तब मात्र मुस्ताङ घुमेको पुष्टि हुन्छ,’ पोखरेलले भने, ‘वास्तविक मुस्ताङ घुम्न माथिल्लो क्षेत्र जानुपर्छ।’ उनले बेनी–जोमसोम–कोरोना सडकलाई जतिसक्दो छिटो सम्पन्न गराउनका लागि प्रदेश सरकार लागिपरेको पनि बताए।

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले मुस्ताङको पर्यटन विकासमा सधैं सहकार्य गर्न पोखरा तयार रहेको बताए। उनले पोखरा र मुस्ताङ मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए। ‘हामी पनि पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तयार छौं। कतिपय काम भएका पनि छन्, आगामी दिनमा पनि सहकार्य गर्न तयार छौं,’ उनले भने।  

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोला नाका खोल्न सके त्यसको लाभ पर्यटन प्रवद्र्धनमा हुने बताए। त्यसबाहेक मुुक्तिनाथसम्म मात्र अहिलेसम्म पर्यटक पुुग्ने गरेकोमा अब अर्काे गन्तव्य दामोदरकुण्डको प्रवद्र्धन जरुरी रहेको उनले बताए।

अहिलेसम्म हेलिकप्टरबाट मात्र दामोदरकुण्ड जाने गरिएकोमा अब त्यो ठाउँमा पदयात्रा गरेरै जान सकिने गरी प्रवद्र्धन गर्न जरुरी रहेको श्रेष्ठको भनाइ छ। ‘दामोदरकुण्ड प्रवद्र्धन गर्न सकेमा धार्मिक पर्यटनमा अझ वृद्धि हुन्छ,’ उनले भने।  

अध्यक्ष श्रेष्ठले व्यवसायीसँग मिलेर अहिलेको सस्तो र छोटो अवधिको प्याकेजलाई अब सुधार्ने पनि बताए। ‘सस्तोभन्दा पनि बसाइ अवधि बढाउने गरी लम्ब्याउने योजना छ।

बसाइ अवधि कम हुँदा पोखरा र मुस्ताङले नै नोक्सान खेपेको छ,’ उनले भने, ‘सधैं सस्तो र छोटो प्याकेजले हुँदैन।’ त्यस्तै कोरोला नाका खोल्न दबाब दिने र त्यो नाका खोल्न सके मानसरोवर यात्रा सहज हुने उनले बताए। ‘मुस्ताङ हुँदै पर्यटकलाई मानसरोवरसम्म पुर्‍याउन सके धार्मिक पर्यटनबाट लाभ पाउन सकिन्छ,’ उनले भने। 

प्रकाशित: २१ भाद्र २०७९ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App