१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सडक खाली गर्न नगरपालिकाको सूचनापछि चन्द्रनिगाहपुरमा हलचल

काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह (बालेन)ले चलाएको अतिक्रमित घरटहरा हटाउने अभियानको असर रौतहटमा पनि देखिएको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले सडकको घरटहरा ७ दिनभित्र हटाउने निर्देशन दिएको छ।

चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, विभिन्न किसिमका व्यापारहरु गर्दै आइरहेकोमा ७ दिनभित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।

सडक विस्तार गरेर मुख्य राजमार्ग र सहायक राजमार्गको दुवैतर्फ नाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएकोले नगरपालिकाले सडकको क्षेत्रभित्र पर्ने संरचना खाली गर्न पत्राचार गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी गराएका छन्।

बढ्दो सबारी साधनको चापले चन्द्रपुर बजार क्षेत्र साँघुरो तथा अव्यवस्थित र असुन्दर भएको स्थानीयको गुनासो रहेको छ। काठमाडौँमा बालेनले हिम्मत गरेपछि स्थानीयबासीले नगर प्रमुख काफ्लेलाई सडकको अवस्था सुधार गर्न दबाव दिएका थिए। नगर प्रमुख बालेनले सम्बन्धित सरोकारवाला पक्षसित बैठक बसी भएको निर्णयलाई कार्यान्वयन गराउन खोजिएको पनि बताएका छन्।

चन्द्रपुर नगरपालिकाले सडक खाली गर्ने सूचना जारी गरेपछि सडकपेटीमा काम गर्ने, निर्माण सामग्री राख्ने, अस्थायी पसल सञ्चालन गर्ने तथा घरको कामकाज गरिरहेकाहरुमा हलचल मच्चिएको छ। चन्द्रपुर नगरपालिकाझैँ गरुडा, गढीमाई, गौर र कटहरिया नगरपालिकाले पनि अतिक्रमित सडक खाली गराउने तथा नगरको सुन्दरता कायम गर्ने काम गर्ने आशा पलाएको जिल्लाबासीको प्रतिक्रिया रहेको छ।

प्रकाशित: २० भाद्र २०७९ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App